भनिन्छ नेपाली फिल्म हेर्ने र निर्माण गर्ने वर्ग नै अलग छन् । उच्चस्तरका व्यक्तिले फिल्म हेर्दैनन् र बनाउँदैनन् भन्ने गलत मानसिकता बोक्नेहरूका लागि टिएन आचार्य एउटा गतिलो उदाहरण हुन् ।

पेशाले चार्टर्ड एकाउण्टेन्ट आचार्य फिल्म भनेपछि मरिहत्ते गर्छन् । नयाँँ हेरौं हेरौं लाग्ने फिल्म हलमा आउनै हुन्न उनी हेर्न पुगिहाल्छन् । एसएलसी दिएदेखि फिल्म हेर्न शुरू गरेका आचार्यले 'सिए' पढ्दा र साथीहरूसँग फिल्म हेर्न कम्पिटिशन नै गरेको सम्झन्छन् । बाटोमा सुटिङ देख्नै हुन्न, गन्तव्यमा नपुगी त्यही सुटिङ हेरेर रमाउँछन् । सायद यहि फिल्मप्रतिको मोह र प्रेमले होला आज उनी फिल्म निर्माता बनेका छन् ।
टिएनले निर्माण गरेको फिल्म 'श्री ५ अम्बरे' यहि आउँदो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । विल्कुलै फरक क्षेत्रको व्यक्तिलाई फिल्ममा लगानी गर्ने सोच कसरी आयो त ? आचार्य भन्छन्, 'आफूले जानेको र बुझेको क्षेत्रमा जस्ले पनि लगानी गर्छ । म फरक ठाउँमा लगानी गर्न रूचाउँथे । राम्रो टिम र कथावस्तु पाएँ अनि लगानी गरें ।'
नेपाली फिल्ममा लगानी गर्नु बालुवामा पानी खन्याए जस्तै हो । यो कुरा आचार्यले पनि राम्रैसँग बुझेका छन् । भन्छन्, 'सम्भावनाको ग्यारेन्टी हुने ठाउँमा त जस्ले पनि लगानी गर्छ ।' सम्पूर्ण योजना अनुसार काम भए जुनकुनै ठाँउमा लगानी नडुब्ने उनको बुझाई छ । 'श्री ५ अम्बरे' को सफल परिणाम निस्कनेमा उनी ढुक्क छन् ।
बिगत १० बर्षदेखि चार्टर्ड एकाउण्टेन्ट पेशामा रहँदै आएका आचार्यको आफ्नो क्षेत्रमा राम्रो अनुभव छ । उनी नयाँँ ठाउँमा नयाँँ अनुभव लिन चाहन्थे । त्यसैले उनले फिल्म क्षेत्र रोजे ।
साथीहरू र आफ्नो कार्य क्षेत्रका व्यक्तिहरूले उनलाई सम्झाए पनि गाली पनि गरे, फिल्ममा नलाग भनेर । फिल्मप्रतिको मोह र नेपाली फिल्ममा परिवर्तन ल्याउनु पर्छ भने अठोट लिएका आचार्यले कसैको कुरा सुनेनन् । उनले सुने त आफ्नै मनको कुरा । 'मनले जे गर भन्छ त्यही गर्नुपर्छ', आचार्यले भने, 'त्यसमा नै सफलता पाईन्छ ।' उनी भन्छन्, 'फिल्मप्रति रूची नभएकाहरूलाई फिल्म हेर्न प्रेरित गर्न पनि फिल्म बनाउन चाहन्थें ।'
साँस्कृतिक अतिक्रमणलाई रोक्न र नेपाली समाज रूपान्तरण गर्न फिल्म बन्नु पर्ने उनको धारणा छ । 'श्री ५ अम्बरे' पनि समाज रूपान्तरणको लागि अहम् भूमिका खेल्ने एउटा असल फिल्म बनेको उनको दाबी छ ।
आचार्यको बुझाईमा फिल्म चल्नका लागि तीन कुरा आवश्यक छ । पहिलो दर्शकलाई रूवाउने दोस्रो हँसाउने र तेस्रो दर्शकले देखेको, भोगेको तर अनुभव नगरेको वास्तविकतालाई महशुस गराउने । 'श्री ५ अम्बरे'मा यि तीनै कुरा रहेकाले दर्शकको मनमा बस्न सक्ने उनको आश छ । 'श्री ५ अम्बरे' सफल हुने आधार पनि यहि हो', आचार्यले दाबीका साथ भने ।

