पूर्व मिस नेपाल मलिनाको पहिलो फिल्म 'ऋतु'को अधिकांश भाग अष्ट्रेलियामा सुटिङ गरिएको थियो जसको लगानीकर्ता र मेकर अष्ट्रेलियाकै थिए । उनको यो दोस्रो फिल्म 'द विनर' पनि अष्ट्रेलिया र नेपालमा सुटिङ हुनेछ जसको लगानीकर्ता र मेकर अष्ट्रेलियाकै एनआरएन रहेका छन् ।

यहि क्रममा शुक्रबार फिल्म 'द विनर' निर्माणको घोषणा गरियो । हिक्मत बिष्टले निर्देशन गर्न लागेको यो एक्सन फिल्ममा मलिनासहित नयाँँ अनुहारको रूपमा महेशमान श्रेष्ठ र मञ्चिन शाक्य मुख्य भूमिकामा रहनेछन् । फिल्मलाई डाइमन्ड स्टार इन्टरटेन्मेन्टले निर्माण गर्नेछ ।
नेपालमा मौलाएको अपराधिक गतिबिधीले अष्ट्रेलियामा पारेको प्रभावको बिषयमा बन्न लागेको यो फिल्ममा मलिनाले 'ऋतु'मा गरेको भन्दा भिन्न भूमिका रहेको बताईन् । 'यो फिल्ममा म अलि ग्ल्यामर युवतीको भूमिकामा रहने छु', मलिनाले भनिन्, 'एक्सन फिल्म भएपनि म एक्सन गर्ल भने बन्दिन ।'

पुरूषोत्तम प्रधानको छायाँकन रहने यो फिल्मलाई भिन्न शैलीले प्रस्तुत गर्ने निर्देशक बिष्टले जानकारी दिए । उनले नेपाली फिल्मलाई विश्व बजारमा चिनाउने हिसाबले मेकिङ गर्ने दाबी गरे ।
तस्विर सौजन्य : सन्नी प्रधान

