अभिनेता भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको दोश्रो फिल्म 'जेरी' हेर्न आज जय नेपाल हलमा अभिनेत्रीहरूको भिड नै लाग्यो । फिल्म क्षेत्रका चर्चित अभिनेत्री र केहि अभिनेता हलमा देखिए । भुवनको निम्तोलाई स्विकार गर्दै उनीहरु हलमा पुगेका हुन् ।


अभिनेताहरु आर्यन सिग्देल, जीवन लुईटेल, अनुपविक्रम शाही हलमा देखिए । यस्तै अभिनेत्रीहरु रेखा थापा, गौरी मल्ल, नन्दिता केसी, नम्रता श्रेष्ठ, मलिना जोशी, वेनिशा हमाल, पूजा शर्मा, रिमा विश्वकर्मा, निशा अधिकारी, कोरियोग्राफर रेनशा राई लगायत हलमा पुगे ।
हेमराज बिसीले निर्देशन गरेको यो फिल्मलाई १ घन्टा ५५ मिनेट हेरेपछि सबैको मुहारमा खुशी देखियो । अभिनेत्री वेनिशा हमाल फिल्म सकिएपछि पनि हलबाट लामो समय उठ्न सकिनन् । उनी फिल्मको क्लाइमेक्ससँगै रोइरहेकी थिइन् । फिल्मकै मुख्य पात्र एना शर्मा पनि आँशु रोक्न सकिनन् ।
.jpg)

फिल्म हेरेर निस्किएका सबैजसो कलाकार र पत्रकारले 'जेरी'लाई उत्कृष्ट भनेका छन् । फिल्मको कथावस्तु, प्रस्तुती, छायांकन र दृश्यलाई सबैले तारिफ गरे । फिल्मको शिर्ष भूमिकामा देखिए अनमोल सबैबाट पाएको प्रतिक्रियाबाट दंग देखिए ।
पहिलो पाटोमा निक्कै रोमान्टिक कथा समावेश गरिएको 'जेरी'ले दोश्रो हाफमा दर्शकलाई रुवाएको छ । सम्पूर्ण फिल्म नै आफूमाथि बगेकाले अनमोललाई ठूलो चुनौती थियो । तर, यसलाई उनले राम्रोसँग निर्वाह गरेका छन् । फिल्मकी नव अभिनेत्री एना शर्माको कामलाई पनि सबैले तारिफ गरे ।


देशभरका हलमा आजबाट प्रदर्शनमा आएको यो फिल्मले सुरुवाती व्यापार राम्रो गरेको छ । फिल्मलाई मनोज शेरचनले निर्माण गरेका हुन् । माउथ पब्लिसिटीले यो फिल्मको व्यापार बढ्न सक्ने आँकलन गरिएको छ । फिल्मलाई पपकर्न र एफडीले वितरण गरेको छ ।

