अर्को शुक्रबारबाट देशभर ‘श्री ५ अम्बरे’ नामक फिल्म लाग्दैछ । यो फिल्मले चर्चाको उचाई पनि पाइरहेको छ । फिल्मको प्रचारका लागि आजबाट यसको निर्माणपक्षले शहर परिक्रमा अभियान सुरु गरेको छ ।

फिल्मका मुख्य कलाकार सौगात मल्ललाई गद्दीमा राख्दै शहर परिक्रमा गराइएको छ । शहर परिक्रमाअघि आयोजना भएको पत्रकार सम्मेलनमा सौगातलाई श्रीपेच लगाउँदै गद्दी आरोहण गराइएको थियो ।
फिल्ममा उनी 'श्री ५ अम्बरे'को भूमिकामा छन् । सौगातले गद्दी आरोहण गर्दा अर्की मुख्य पात्र केकी अधिकारी भने अम्बरे राजाको छेउमा बसिन् । राजा बनेका सौगातलाई नयाँँ अनुभव त भयो नै केकीले पनि अनौठो अनुभव भएको सुनाईन् ।

कार्यक्रममा फिल्ममा 'काली' पात्रको भूमिकामा देखिएकी अभिनेत्री केकी अधिकारीले दु:खका साथ काम गरेकाले हरेक दर्शकको मनमा आसन ग्रहण गर्न पाउँ भन्ने चाहना व्यक्त गरिन् । श्रीपेचमा सजिएका सौगातले भने फिल्मले सम्पुर्ण कुरा मंसिर ५ गते नै भन्ने भन्दै केहि बोल्न मानेनन् ।
निर्देशक दीपा बस्नेतले सम्पूर्ण टिमको सहयोगले फिल्म आफूले सोचेजस्तो बनेको भन्दै पहिलो फिल्म 'अन्तराल'बाट पाएको इज्जतलाई नफाल्ने गरी काम गरेको बताईन् । फिल्मका निर्माता मध्येका एक टीएन आचार्यले आफूले यो फिल्मबाट धेरै कुरा सिकेको भन्दै अर्को प्रोजेक्ट पनि निर्माण गर्ने बताए । उनले साँस्कृतिक रूपान्तरणको लागि फिल्म बन्नु पर्ने धारणा राखे ।

डीसीएनका प्रमुख अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले फिल्म सफलताको शुभकामना दिए । जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई डिसिएनले वितरण गर्दैछ ।

