गत बिहीबार यो संसारबाट बिदा लिएका निर्देशक आलोक नेम्वाङले दर्शकहरूलाई एउटा फिल्म मायाको चिनो स्वरूप छोडेर गएका छन् । आगामी फागुन १५ गतेबाट रिलिज हुन लागेको 'अझै पनि' आलोक निर्देशित अन्तिम फिल्म हो ।

यही आलोकको अन्तिम फिल्मको 'स्याड' गीत रिलिज गरिएको छ जुन उनको मनपर्ने गीत भनिएको छ । फिल्मका अभिनेता सुदर्शन थापाका अनुसार प्रस्तुत गीत आलोकको सबैभन्दा मनपर्ने गीत हो ।
बिजय सिवाकोटीको शब्द, सचिन सिंहको संगीत तथा राजु तमाङको स्वर रहेको प्रस्तुत गीतको करियोग्राफी आलोक स्वयंले गरेका हुन् । पूनम गौतम र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा सुदर्शनसहित पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, बिपना धिमाल, प्रमिला खनाल लगायतले अभिनय गरेका छन् ।

