टिनेजर युवायुवतीको प्रेमकथामा बनेको संयम पुरी स्टारर फिल्म 'लभ सब' तोकिएको मितिमा रिलिज नहुने भएको छ । आगामी पौष २५ गते हुने भनिएको यो फिल्म केही साताका लागि पछि सरेको निर्माता सुशिल पोखरेलले जानकारी दिए ।
पौष २५ मा संयममै मुख्य अभिनय रहेको `आभाष` फिल्म रिलिज हुन लागेकोले एउटै मितिमा एउटै कलाकारको फिल्म जुध्दा असर पर्ने भएकाले आफू पछि हटेको निर्माता पोखरेलको भनाई छ । उनका अनुसार 'आभाष'ले प्रचार प्रसारको थालनी समेत गरेको र आफूले औपचारिक रूपमा मिति घोषणा नगरेकोले उक्त मितिबाट पछि हटिएको हो ।
माघे संक्रान्तीमा फिल्म चल्न सक्ने हुनाले उक्त मितिमा फिल्म रिलिज हानथाप हुने गर्दछ । त्यसैलेपनि पौष २५ मा 'आभाष'सँगै 'अलबिदा' र 'तथास्तु' रिलिज हुने बताईएको छ ।
यता देवकुमार श्रेष्ठ निर्देशित ‘लभ सब’को प्रदर्शन मिति माघ महिना तिर गर्ने तयारी गरिएको निर्माता पोखरेलले जानकारी गराए । यो फिल्ममा संयमसँगै सलोन बस्नेत, करिष्मा श्रेष्ठ, शिशिर भण्डारी, के.के. अधिकारी र अर्चन राईको मुख्य भूमिका छ ।
निर्माता पोखलेरले यही 'लभ सब'को प्राबिधिक टिमलाई लिएर अर्को नयाँँ फिल्म बनाउने तयारी गरेका छन् । आफ्नै बहिनी रश्मी पोखरेललाई अभिनेत्रीमा डेब्यू गराउँदै उनले फिल्म बनाउने बताएका हुन् । उनका अनुसार रश्मीले हाल भारतमा अभिनय सम्बन्धी कोर्ष गर्दैछिन् ।

बहिनी रश्मिलाई टिका लगाईदिंदै निर्माता सुशिल पोखरेल
नाम फाईनल नगरिएको उक्त फिल्मलाई 'लभ सब'कै निर्देशक देवकुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन् । जगदिश्वर थापाले कथा लेखिरहेको सो फिल्मका लागि संगीतकारको रूपमा अर्जुन पोखरेल फाईनल छन् भने छायाँकार कृष्ण श्रेष्ठ र द्धन्द हिमाल केसीको रहने छ ।
अभिनेता भने ४ जना रहने बताईएको छ । त्यसका लागि हाल राजेश हमाल, जीवन लुईटेल, आर्यन सिग्देल र सुवास थापासँग कुरा चलिरहेको निर्माता पोखरेलको भनाई छ । फिल्मको सुटिङ आगामी जुलाई महिनाबाट शुरू हुने उनको भनाई छ ।

