आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हमजायगा'को निर्माण युनिटले सामाजिक सेवामा आफ्नो हात अगाडी बढाएको छ । युनिटले सडक बालबालिका, श्रम कठिनाईमा परेका तथा यौन शोषणमा परेका बालबालिकाको निम्ति काम गर्दै आएको पोखराको किदासा अर्गनाईजेशनलाई एक लाख रूपैंया सहयोग गरेको हो ।
अमेरिकाको न्यूयोर्क शहरमा गरिएको 'हमजायगा'को च्यारिटीबाट संकलन भएको उक्त रकम आज बिहीबार काठमान्डौमा पत्रकार भेटघाट कार्यक्रमका बिच किदासा अर्गनाईजेशनलाई हस्तान्तरण गरिएको हो । निर्देशक सुरेन्द्र पुन, निर्माता सूर्य ब्लोन र निर्माण कम्पनी मुनाल फिल्म्स्का अध्यक्ष भोज बहादुर गुरूङले एक लाखको चेक हस्तान्तरण गरे ।
नेपालीभाषीहरूको बाहुल्यता रहेको भारतको दार्जीलिङ र खरसाङमा निकै चर्चित रहेका चुट्किला पात्र दलबहादुर गुरूङ 'हमजायगा'को नाममाथि बनेको फिल्म 'हमजायगा'मा बाबु बोगटी, मनोज आरसी, विल्सनविक्रम राई, ऋचा धिताल, सपना श्रेष्ठ, पार्वती राईलगायतको अभिनय रहेको छ ।

