बलिउडका कलाकारहरु आफ्नो नामको ब्रान्डकै कारणबाट अर्बौं रकम कमाउँछन् । उनीहरुको कमाई फिल्म भन्दा ब्रान्डबाट धेरै हुने गर्दछ । हलिउडका कलाकार भन्दा त्यहाँका खेलाडीहरुको ब्रान्ड भ्यालु धेरै छ । तर, बलिउडमा भने कलाकारले खेलाडीलाई उछिनेका छन् ।
बलिउडका किङ मानिने शाहरूख खानले ब्रान्डको मामलामा एकछत्र राज गरेका छन् । हालै मात्र सार्वजनिक एक तथ्यांकका अनुसार उनको ब्रान्ड भ्यालु १८ करोड ४९ लाख डलर छ । उनले सन् २०१३–१४ मा बिज्ञापनबाट मात्र १ हजार १ सय करोड भारु कमाएका छन् ।
अमेरिकाको अमेरिकी फर्म अमेरिकी अप्रेजलले यो मुल्यांकन गरेको एक अंग्रेजी दैनिकले जनाएको छ । शाहरूखपछि अभिनेता रणवीर कपुर दोश्रो नम्बरमा छन् । उनको ब्रान्ड भ्यालु १२ करोड ९४ लाख डलर छ । कलाकारको इज्जत, विज्ञापनबाट कमाउने पैसा, फिल्मको व्यापारका आधारमा ब्रान्ड भ्यालु निकालिएको हो ।
तेश्रो र चौथो नम्बरमा दुई चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी र विराट कोहली छन् । पाचौं नम्बरमा रहेका अभिनेता अमिर खानको ब्रान्ड भ्यालु ५ करोड ४९ लाख डलर छ । रणवीर कपुरको भन्दा पनि पछि रहँदै सलमान खान छैठौं नम्बरमा छन् । यस्तै सातौं नम्बरमा अभिनेत्री दीपिका पादुकोण, आठौं नम्बरमा अभिनेता ऋतिक रोशन, नवौं नम्बरमा अभिनेत्री कट्रिना कैफ र दशौं नम्बरमा करिना कपुर छन् ।

