नेपाल जेम एण्ड ज्वेलरी एसोसियसनको आयोजनामा बुधवार काठमाण्डौको याक एण्ड यती होटलमा आयोजना हुन लागेको ज्वेलरी फेशन शोमा शोजटपरको रूपमा सहभागी बलिउडकी चर्चित अभिनेत्री रविना टण्डन मंगलबार नेपाल आएकी छिन् । रविना नेपालमै निर्माण भएका गरगहना पहिरेर र्याम्पमा उत्रने छिन् ।

कार्यक्रमको बारेमा जानकारी दिन मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रविनाले बुद्ध जन्मिएको देशमा आउँदा खुशी लागेको बताइन् । 'म बुद्ध धर्म मन्दिन तर बुद्ध जन्मेको देशमा आउन पाउँदा निकै खुसी छु', रविनाले भनिन् । आफूलाई बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गर्न मन लागेको उनको भनाई थियो ।
नेपाल आउने धोको पहिलेदेखि नै भएपनि बल्ल अबसर पाएको बताउँदै रविनाले भनिन्, 'छिमेकी देश भएर पनि आउन सकेकी थिईन । नेपाल आउने बातावरण मिलाईदिएकोमा नेपाल जेम एण्ड ज्वेलरी एसोसियसन धन्यवाद दिन चाहन्छु ।' आयोजकले नेपाल आउन आग्रह गर्दा सुन्दर देशमा आउन केही नसोची 'ओके' भनेको रविनाले सुनाईन् ।
नेपालका गहना २४ क्यारेटकै हुने दाबी गर्दै रविनाले विश्वमा नै नेपाली गहनाको राम्रो बजार हुने भन्दै आफूले यसको प्रयोग गरेर प्रचार गर्ने बताईन् । यस्तै सुन्दरतालाई कसरी परिभाषित गर्नुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा रविनाले भनिन्, 'सुन्दरता भनेकै मन हो । राम्रो मनले हेर्नुस्, हरेक चिज सुन्दर लाग्छ ।'
सफल अभिनेत्री बन्न अभिनय, भाग्य, सुन्दरता चाहिने रविनाको भनाई थियो । भगवानप्रति आस्था राख्ने रविना ले मुस्कुराउँदै भनिन्, 'भगवानले साथ दिए गधा पनि घोडा बन्छ । त्यसैले सफल हुनका लागी भगवानको पनि साथ चाहिन्छ ।'
नेपाली गहनाको प्रबर्द्धनका लागि फेशन शोमा नेपाली अभिनेत्री प्रियंका कार्की, पूर्व मिस नेपालहरुको साथमा मोडलहरुले ८ वटा सिक्वेन्समा क्वाटवाक गर्नेछन् ।

