प्रदर्शन मितिसगै फिल्म ‘जिन्दगी रक्स’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै भी प्रोडक्शनले प्रचारको थालनी गरेको हो ।

म्यूजिक भिडियो निर्देशक निकेश खड्काले पहिलो पटक यो फिल्मलाई निर्देशन गरेका हुन् । फिल्ममा अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । मोडल तथा भिजे सुजता श्रेष्ठको सह–निर्माणमा तयार भएको फिल्ममा विरेन्द्रराज तुलाधरको मुख्य लगानी छ ।
फिल्ममा युवायुवतीहरूको साहसिक रोमान्टिक कमेडीलाई देखाउन खोजिएको छ । कार्यक्रममा बोल्दै निर्देशक निकेश खड्काले निकै मिहिनेत गरेर फिल्म बनाएको बताए । नयाँ प्रयोग गर्न खोजिएको भन्दै कलाकारहरुले दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

फिल्ममा निरोज महर्जनको कथा, हरि हुमागाईको छायांकन, बाबु प्रधानको मिक्सिङ, निशान घिमिरेको सम्पादन छ । कार्यक्रममा फिल्ममा समावेश 'लखर लखर...' बोलको गीत पनि देखाइएको थियो । यो फिल्म पौष १८ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
तस्विर : बिनोद पोखरेल

