अलगधारमा रहेर फिल्म निर्माण गर्न रूचाउने निर्देशक श्याम बेनेगलले सोमबार राजधानीमा नेपाली युवा फिल्मकर्मी माझ फिल्म अनुभव साटे । ओस्कार कलेज र भारतीय दूतावासको संयुक्त आयोजनामा भएको अन्तकृया कार्यक्रममा बेनेगलले फिल्म, कलाकार र नेपाली फिल्मको सम्भावनाका बारेमा आफ्ना भनाई राखे ।
‘मंडी’, ‘अंकुर’, ‘निशान्त’, ‘भूमिका’ जस्ता फरक धारका फिल्म बनाएका उनान्नसी बर्षिय बेनेगलले हरेक ठाउँको फिल्म उद्योग आत्म निर्भर बन्न जनसंख्या महत्वपूर्ण पक्ष रहेको भनाई राखे । उनले भने, ‘नेपाली फिल्म आत्म निर्भर बन्नलाई फिल्म हेर्ने प्रशस्त जनसंख्या चाहिन्छ जुन नेपालमा छैन । फिल्म विश्वव्यापी हुनुपर्छ । नेपालले यो सम्भावना तर्फ विचार गर्नुपर्छ ।’ उनले भारत र पाकिस्तान जस्ता ठूला बजारसँग नेपाली फिल्म क्षेत्रले सहकार्य गर्दा राम्रो हुने धारणा राखे ।
कलाकारबाट काम निकाल्नका सिपालु बेनेगलले फिल्म कथामा या चरित्रमा आधारित हुने बताए । 'मैले केही चरित्र केन्द्रित फिल्म पनि बनाएको छु । तर, ज्यादाजसो फिल्म 'प्लट'मा आधारित छन् । 'प्लट'मा आधारित फिल्ममा कलाकार चेसका गोटी झैं हुन्छन्', बेनेगलले भने, 'कलाकारलाई चुनौति दियो भने मात्र कलाकारबाट सही काम निस्कन्छ ।’ उनले हरेक कलाकारमा एउटा न एउटा क्षमता हुने भएकाले निर्देशकले त्यो चिन्न सक्नुपर्ने बताए ।
करौंडौं बजेटको फिल्मलाई समिक्षकले नराम्रो भनेर बजार बिगार्न पाउँछ कि पाउन्न भन्ने प्रश्नमा बेनेगलले समिक्षा जरुरी रहेको बताउँदै भने, 'तपाईंले गरेको कामलाई राम्रो नराम्रो भनिदिने मान्छे चाहिन्छ । तर, चिन्ता नगर्नुस्, समिक्षकले भनेकै भरमा दर्शकले आफ्नो धारणा बनाउँदैनन् ।’

