आफ्नो सन्तानको माया त कसलाई हुँदैन र ? नेपाली फिल्मका दुई चर्चित हस्ती अभिनेता भुवन केसी र निर्देशक शोभित बस्नेतलाई आफ्ना छोराहरुको चिन्ता छ । भुवनका छोरा अनमोल र शोभितका छोरा सलोन फिल्म नगरीमा जम्ने कोशिसमा छन् । यसैले पनि छोराहरुको करिअरलाई अगाडि बढाउन उनीहरू नै लागेका छन् ।
शोभितले छोरा सलोनलाई लिएर 'झिल्के' नामको फिल्म नै छायांकन सुरु गरेका छन् । यतिमात्र होइन छोराको अन्य फिल्ममा पनि शोभितको सक्रियता बढेको छ । प्रदर्शनको लागि तयार भएको फिल्म 'एउटा साथी'को प्रचारमा सलोन भन्दा शोभित बढी खटिएका छन् ।
यता भुवन पनि आफ्नो छोरा अनमोलको 'जेरी' फिल्मको प्रचारमा लागिपरेका छन् । संचारकर्मीलाई फोन गर्दै 'जेरी'का बारेमा वुझेका भुवन अनमोललाई लिएर फिल्म निर्देशन पनि गर्दैछन् । 'जेरी'को प्रचार अनमोललाई भन्दा बढी भुवनलाई लागेको छ । आफूहरुले पाएको सफलता छोराहरुले पनि पाउन् भन्ने चाहना दुई पितामा देखिन्छ ।

