फिल्म 'फेसबुक'बाट डेब्यू गरेका एनआरएन अभिनेता स्वतन्त्र प्रताप शाह दुई वटा फिल्ममा अभिनय गर्दासम्म मिडियाको नजरमा खासै पर्न सकेनन् । 'फेसबुक'सँगै दोस्रो फिल्म 'मेरो भ्यालेनटाईन' पनि असफल भएपछि उनलाई पनि सफलता हात परेन ।

अष्ट्रेलियामा बस्दै आएका स्वतन्त्र तिहार मनाउन नेपाल आए । मिडियाले चाल पाएन या पाएर पनि चाल दिएन ? उनी शनिबार राती अष्ट्रेलिया फर्के । उनी नेपाल किन आए त ?
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार स्वतन्त्र केही दिन अगाडी हङकङमा आयोजना भएको नेफ्टा अवार्डमा सहभागी हुन अष्ट्रेलियाबाट आएका थिए । उक्त अवार्ड समारोहमा 'ए मेरो हजुर २'को निर्माण घोषणा गरिएको थियो । सोही फिल्ममा अभिनय गर्न लागेकाले पनि उनी हङकङ आएका हुन् ।
हङकङबाट केही दिनका लागि नेपाल पसेका स्वतन्त्रले अभिनेत्री झरना थापाले निर्देशन गर्ने फिल्ममा अभिनय गर्दैछन् । यहि फिल्मको पूर्व तयारीका लागि स्वतन्त्र नेपाल आएको बताईन्छ । यस्तै स्वतन्त्रले अष्ट्रेलियामा यहि फिल्मको सुटिङ गर्ने चांजोपाँजो मिलाउँदै छन् । स्वतन्त्र अष्ट्रेलियामा नेपाली फिल्मको बजारविस्तार गर्न अग्रसर हुने व्यक्ति पनि हुन् ।
सुनिल कुमार थापाले निर्माण गर्ने यो फिल्ममा स्वतन्त्रसहित अनमोल केसीको मुख्य भूमिका रहनेछ । अभिनेत्रीको भने टुंगो लगाईएको छैन । निर्माता थापाले नेपाल र अष्ट्रेलियामा फिल्मको सुटिङ गर्ने जानकारी दिए ।

