बलिउडमा एउटा कलाकारको फिल्म हेर्न १ बर्ष कुर्नु पर्छ । यसैले पनि हलमा दर्शक ओइरिएर जान्छन् । तर, नेपालमा भने यस्तो छैन । कलाकारहरु अफर आएका सबै फिल्ममा काम गर्छन् । अनि भटाभट फिल्म रिलिज हुन्छ, दर्शक नै कन्फूज, कुन फिल्म हेर्ने कुन नहेर्ने ?
कुनै बेला थियो अभिनेता आर्यन सिग्देलको फिल्म हेर्न पनि दर्शकले बर्ष दिन नै कुर्थे । तर, समय फेरिएको छ । चल्तीका अभिनेता आर्यन सिग्देलको यो बर्ष ७ वटा फिल्म बजारमा आउँदैछन् । जसमध्ये कात्तिकदेखि चैत्रसम्म मात्र ६ वटा फिल्म प्रदर्शनको सूचीमा छन् ।
कात्तिक ७ मा आर्यनको 'लज्जा' चल्यो । मंसिर १९ गते उनको एक्सन पाटो भरिएको 'नाइके' लाग्दैछ । यसको एक महिना नबित्दै पौष २५ मा 'अलबिदा' लाग्नेछ । यसमा पनि आर्यन एक्सन गर्दै गरेको अवस्थामा भेटिनेछन् ।
माघमा खाली भएपनि आर्यनको सेड्यूल फाल्गुणमा दोब्बर हुनेछ । फाल्गुण ८ गते आर्यनको एक्सन अवतार 'आवेग' लाग्नेछ । यसको एक साता लगतै आर्यनको फाल्गुण १५ गते 'पुनर्जन्म' लाग्नेछ । लगातार फिल्म प्रदर्शनमा आउने सूचीमा चैत्र २७ गते 'नाई नभन्नु ल ३' पनि थपिनेछ । हाल यो फिल्मको सुटिङ चलिरहेको छ ।
'माला' नामको फिल्म पनि प्रदर्शनमा आएको खण्डमा आर्यनको यो बर्ष फिल्म प्रदर्शन सूची ८ वटा पुग्नेछ । वैशाखमा आर्यनको 'नोभेम्बर रेन' प्रदर्शनमा आएको थियो जुन व्यापारिक रूपमा सफल पनि भयो र आर्यनको चर्चा पनि चुलियो ।

