कात्तिक ३ गते हङकङको चार तारे होटल वीपी इन्टरनेशनलको भव्य हलमा करिब एक हजार दर्शकमाझ ‘सातौ नेफ्टा फिल्म अवार्ड’को आयोजना भयो । अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रका थुप्रै कलाकारदेखि प्राविधिक पुगे । अवार्ड पाउने, नृत्य गर्नेदेखि लिएर कलाकारका रेड कार्पेट फोटाहरुले मिडियामा स्थान पाए ।

मनोज केसी (बाँया) र सुनिल कुमार थापा
तर, करिब २ करोड माथिको बजेटमा अवार्ड आयोजना गर्न पर्दा पछाडी बस्ने केही व्यक्तिहरूको मेहनतलाई सम्झने कमै भए । नेपालबाट कलाकार हङकङ लैजाने काम गरे, निर्माता सुनिल कुमार थापाले । एस.के प्रोडक्शनका अध्यक्ष समेत रहेका थापाले नाफा कमाए या घाटा उनले नै जान्ने कुरा हो । तर, यो अवार्डलाई नेपाल व्यवस्थापनको जिम्मा लिएका सुनिल कुमार थापाको काम फिल्म नगरीले सधैं नै सम्झने छ ।

अवार्डलाई भव्य बनाउन नेपाल चलचित्र प्राविधिक संघका कार्यसमिती सदस्यहरूको योगदानलाई पनि बिर्सन मिल्दैन । अध्यक्ष मनोज केसी, उपाध्यक्षद्धय प्रकाश महरा, पुष्कर लामा, महासचिव अनन्त तिमिल्सिनादेखि अर्जुन पोख्रेल, सानु भारती, अन्जु केसी, शंकर पाण्डे र नेफ्टा परिवारको मेहनत बिना यो अवार्ड सम्भव थिएन । यसअघि नेफ्टाले मलेसियामा अवार्ड गरेको थियो । नेपाली फिल्मलाई विदेशी बजारमा पुर्याउन नेफ्टाले चालेको कदमलाई तारिफ गर्नैपर्छ ।

सुरेश दर्पण पोख्रेल
.jpg)
बाबुराम दाहाल
अवार्डको कृयटिभ पार्ट हेरेका २ व्यक्ति थिए, बाबुराम दाहाल र सुरेशदर्पण पोख्रेल । स्टेजलाई सजाउनदेखि कार्यक्रम तालिका बनाउनु र त्यसैअनुसार कार्यक्रम गर्नु चुनौतीपूर्ण बिषय हो । अर्कोतिर, दक्षिण कोरियामा रहेका सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाललाई अवार्ड उद्घाटनका लागि सुरेश दर्पणकै पहलमा हङकङ बोलाइएको थियो । बाबुराम र सुरेशले नेफ्टा अवार्डलाई ठूलै गुन लगाएका छन् ।

पुष्कर लामा (बाँया) र विनय शाह
हङकङसम्म फिल्मीकर्मीलाई पुर्याउने काम त निर्माता सुनिल कुमार थापाले गरे । तर, हङकङमा अवार्ड आयोजनाको जिम्मा भने ग्रेट पर्फेक्ट कम्पनीले लिएको थियो । फिल्मीकर्मीलाई चार तारे होटलमा राखेर महंगो रकममा अवार्ड आयोजना गर्ने विनय शाह र उनको टिमको काम पनि तारिफयोग्य छ । यस्तै, एनआरएन हङकङ र यसका अध्यक्ष दुर्गा गुरुङको योगदान पनि 'सातौं नेफ्टा अवार्ड’का लागि विशेष रहेको देखियो ।
समग्रमा पर्दा पछाडि रहेर काम गर्ने यिनै व्यक्तिका कारण विदेशी भूमिमा महंगो रकम खर्च गरेर नेपाली फिल्मको अवार्ड सम्पन्न भयो । आज फिल्म क्षेत्रले पनि गर्व महसुश गर्न पाएको छ ।

