देशभर फिल्म 'लज्जा'लाई व्यवसायिक मात लागेको छ । शुक्रबारबाट रिलिज भएको यस फिल्म हेर्न दर्शक ओईरिएका छन् नै रूचाएका पनि छन् । रिलिजको दिनबाटै हाउसफुल ब्यापार गरेको 'लज्जा'को कथाबस्तु बिशेष मन परेको दर्शकहरुको भनाई छ ।
धनी र गरिब परिवार भित्रको भिन्नता र त्यसले पैदा गर्ने अनेकन समस्या तथा नारी संवेदनालाई दर्शकले आफ्नो मनमा राख्न सफल भएको देशभरको बक्स अफिस रिपोर्टले देखाएको छ । हेटौंडाको ओम चलचित्र मन्दिरमा शुक्रबारदेखि अाईतबारसम्म तीनै दिन 'लज्जा'को शो हाउसफूल रहेको हल संचालक नरेन्द्र महर्जनले बताएका छन् ।
आक्रमकरुपमा दर्शकहरुको ओईरो देखेपछि हलले सुरक्षाको लागी सुरक्षाकर्मी समेत परिचालन गरेको उनको भनाइ छ । चाडपर्बको समयमा फिल्म हेर्न आउने दर्शकहरुको सुरक्षा तथा भिडभाडमा चोरीडकैती हुन सक्ने आशंकाले पनि सुरक्षाकर्मी परिचालन गरेको हल संचालक महर्जनले बताए ।
फिल्मको गीत संगीत र प्रस्तुतीलाई धेरैले प्रशंसा गरेका बुझिएको छ । चक्लेटी अभिनेता आर्यन सिग्देलको भूमिकालाई मखमली माला उने जस्तै उनेर चिटिक बनाउने निर्देशक नबल नेपालको कामलाई पनि दर्शकले तारिफ गरेको पाईएको छ ।
यता पहिलो पटक फिल्मको प्रर्दामा देखिएकी नव अभिनेत्री शिल्पा पोखरेलको प्रबेशलाई पनि दर्शकहरुले उत्तिकै प्रसंशा गरेका छन् । म्युजिक भिडियोमा देखिदै आएकी शिल्पाको अभिनय पहिलो फिल्म लज्जामा राम्रै खुलेको देखिन्छ ।
फिल्मको 'मात लाग्यो मात लाग्यो' बोलको गीत पर्दामा बज्न थालेपछि दर्शकहरुले हलभित्रै आफै नाचेर रमाईलो गरेको दृश्यहरु रोचक देखिएको थियो । चेतन सापकोटाको संगीतमा रामचन्द्र काफ्ले र माण्डबी त्रिपाठीको स्वरमा सजिएको यो गीत सबै दर्शकरुको जिब्रोमा झुण्डिन सफल भएको पाईएको छ ।
व्यवसायिक फिल्म निर्माण गरेका छबि ओझालाई यो फिल्मले पनि सफलता दिने देखिएको छ ।