नीर शाह निर्देशित पछिल्लो फिल्म 'सेतो बाघ'ले सेन्सर बोर्डबाट यूनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । आउँदो कार्तिक २२ गते अर्थात नोभेम्बर ८ तारिखका दिन अष्ट्रेलियाको मेलवर्न शहरमा प्रिमियर तयारी रहेको 'सेतो बाघ'को सेन्सर प्रतिक्रियाले आफू अत्यन्त हर्षित भएको निर्देशक शाहको भनाई छ ।

डायमन शमशेर राणाको ऐतिहासिक उपन्यास माथि बनेको 'सेतो बाघ'मा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई शाहले उतार्ने प्रयाश गरेका छन् । शाहका अनुसार ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि राणाभाइहरूबीच भएको षड्यन्त्रको कथा छ ।
जंगबहादुर राणाको भूमिका बिएस राणा छन् भने राजाराम पौडेल, रवि गिरी तथा पवन मैनाली पनि फिल्ममा छन् । दुर्घटनामा घाइते भएका पवनले ११ वर्षको अन्तरालमा यसैबाट अभिनयमा फर्केका हुन् । संजय लामाले खिचेको यो फिल्मको नेपाल रिलिज मिति तय भईसकेको छैन ।

