अभिनेता आर्यन सिग्देल प्रेमी युवकबाट आफूलाई एक्सनमा परिवर्तित गरेको भनिएको फिल्म 'अलबिदा' पौष २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । अन्य ३ वटा फिल्म 'लभ सब', 'आभाष' र 'तथास्तु'को साथमा यो फिल्मले भाले भिडन्त गर्न लागेको हो ।

लक्ष्मण रिजालको निर्देशनमा बनेको यो फिल्मलाई हसन खानले निर्माण गरेका हुन् । केशव घिमिरेको सह-लगानीमा बनेको यो फिल्ममा आर्यन सिग्देलको अलवा हसन खान र अनिता आचार्यको मुख्य भूमिका छ । लामो समयपछि पल्लवी भट्टले यो फिल्ममा आइटम नृत्य गरेकी छिन् ।
प्रेमकथाको यो फिल्ममा ताराप्रकाश लिम्बुले संगीत दिएका छन् । मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर सार्वजनिक गरियो । यस्तै, फिल्मका कलाकार, प्राबिधिक तथा अतिथीले अडियो सिडीको बिमोचन समेत गरे ।

एचआरके फिल्मस्को ब्यानरमा बनेको फिल्मभित्र ४ वटा गीत समावेश छन् । जसमा ताराप्रकाश लिम्बु, मनिषा पोख्रेल, सन्तोष लामा र बादल प्रसाइले आवाज दिएका छन् ।
फिल्ममा रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा छ । आर्यनले फिल्म छायांकनका लागि निक्कै मिहिनेत गरेको भन्दै फिल्म सफल हुनेमा विश्वस्त रहेको बताए । यता, निर्देशक लक्ष्मण रिजालले अन्य फिल्मको भन्दा आफ्नो फिल्मको कथावस्तु भिन्न रहेकाले चल्नेमा ढुक्क रहेको जनाए ।


