फिल्मको विकास र प्रबर्द्धनको लागि सोमबारबाट धनुषाको हारसर जीबन केन्द्रमा मैथिली फिल्म निर्माण अभिमुखीकरण कार्यशाला सुरु भएको छ । सात दिवसिय उक्त कार्यशालाको बन्दसत्रमा २४ जना मैथिली फिल्मकर्मी सहभागी छन् ।
यसअघि पनि आयोजना भएको कार्यशालामा बनाएको फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सबमा रिलिज हुने अबसर पाएपछि आफूहरू थप फिल्मको ज्ञान सिक्न दोस्रो कार्यशालामा सहभागी भएको मिथिला फिल्मकर्मीले बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वैताले क्यामेराको स्वीच अन गरेर कार्यशालाको उद्घाटन गरेका हुन् । मैथिली भाषा सँस्कृतिलाई फिल्ममा समेट्दै र स्थानीय स्तरमा फिल्म निर्माण गरेर अन्तराष्ट्रिय बजारमा पुर्याउन यो दोस्रो चरणको कार्यशाला गरिएको अध्यक्ष मर्वैताले कार्यक्रममा प्रकाश पारे ।
रंगदर्पण नाट्य संस्थाका अध्यक्ष रितेश कुमार शाहले आफ्नो प्रयासबाट मैथिली फिल्म निर्माण गरिरहेका मैथिली फिल्मकर्मीलाई यस्तो कार्यशालाले फिल्म सम्बन्धि सैद्धान्तिक र व्यबहारिक ज्ञान दिलाउने विश्वास व्यक्त गरे । चलचित्र बिकास बोर्डकी सदस्य रुपा रानाले पनि कार्यशाला उपयोगी हुने बताईन् ।
कार्यशालाका प्रशिक्षक डब्बु क्षत्रीले पछिल्लो समय मैथिली भाषाका फिल्म सँस्कृतिमूखि भन्दा पनि मुम्बैया सुत्रमा बनाउने क्रम बढेको बताए । सोही कारण यस्तो कार्यशालाले मैथिली फिल्मकर्मीलाई मौलिक फिल्म निर्माणमा प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
सोमबारबाटै सुरु भएको यो कार्यशला कात्तिक २ सम्म जारी रहने बोर्डका प्रवक्त अनुपम निरौलाले उद्घाटन समारोहमा प्रकाश पारे । कार्यशलामा निर्देशन, अभिनय, सम्पादन, छायाँकन तथा मिथिला सँस्कृति बारे प्रशिक्षण दिइने क्रम जारी छ ।
फिल्म 'राहदानी'का निर्देशक एवं सञ्चारकर्मी डब्बु क्षेत्रीसँगै कार्यशालाका प्रशिक्षार्थीमा ओस्कार कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल बिनोद पौडेल, निर्देशक जोयस पाण्डे, छायाँकार बिष्णु कल्पित, रंग सँयोजक कपिल पराजुरी, निर्देशक पूर्णेन्दु झा, अभिनेत्री दीपाश्री निरौला, मैथिली सँस्कृतिकर्मी परमेश्वर कापर, राम भरोस कापर भ्रमर लगायत छन् ।

