फिल्म क्षेत्रलाई काम भन्दा गफ गर्नेहरुले बिगारी रहेका छन् । कामै नगरी गफ धेरै गर्नेहरुका कारण पनि फिल्म नगरी कहिलेकाही हाँस्यास्पद बन्ने गरेको छ ।
नेपाली बजारमा फिल्म बनाउने भनेर हल्ला पिट्ने धेरै निर्माता निर्देशक यसै हराउँछन् । उनीहरुले बनाउने भनेका फिल्म त बन्दैनन् नै कुरा पनि साना हुँदैनन् । एउटा फिल्म निर्देशन गरेपछि निर्देशक सुमन दाहालका कुरा नै फेरिए । उनले दोश्रो फिल्म 'नो स्मोकिङ' सुटिङ गरेर रोकिएको महिनौं भैसक्यो । उनले बनाउने यो फिल्मको दियो जलेन धुँवा मात्र उड्यो ।
अझै पनि सुमनले यो फिल्मको निर्देशन गर्ने कुरा छोडेका छैनन् । यसै फिल्मसँग अन्य आधा दर्जन फिल्म बनाउछु भनेका निर्माता मुरारी पोख्रेल पनि थन्किए । गफ मात्र गर्ने उनले एउटै फिल्म बनाउन सकेनन्, सातवटाको त कुरै नगरौं ।
नन्दिता केसी, बिष्णु कार्की र अशिष्मा नकर्मीलाई लिएर बनाउने भनेको फिल्म 'मझेरी' पनि अब लगभग नबन्ने भएको छ । कतारमा छायांकन गर्ने भनिएको यो फिल्मको केही दृश्य नेपालमा खिचिए । यसपछि न फिल्म बन्यो न त चर्चा नै भयो ।
केहि समयअघि मात्र ठूलै हल्ला गरेर कांग्रेसका नेता खुमबहादुर खड्कालाई नै बोलाएर मुहुर्त गरिएको फिल्म 'रेन्जर' पनि अब बन्ने संभावना छैन । फिल्म बन्दैन भनेर मुहुर्तकै दिनमा गाइगुइ सुनिएको थियो ।
यता, शक्तिबल्लभ घोरासैनीको निर्माणमा गोपालन्द्र लामिछानेले निर्देशन गर्ने भनिएको फिल्म 'लम्फू' पनि अड्किएको छ । चाडपर्वका केही दृश्य खिचिएको यो फिल्म कहिले छायांकनमा जान्छ भन्न सकिने अवस्था छैन । सुन्नमा आएअनुसार, अब यो फिल्ममा सुदर्शन थापाको अभिनय हुने छैन ।
यता, दक्षिण कोरियामा पुगेर निर्देशक लक्ष्मण रिजालले खिचेको फिल्म 'केशरी' पनि अड्किएको छ । कोरिया जाँदा १३ जना र फर्कदा ७ जना मात्र भएपछि यतिबेला निर्माता रामप्रसाद रिजाल र निर्देशक लक्ष्मण रिजाल कोरियन राजदुतावासको खोजीमा छन् ।
यो फिल्ममा आर्यन सिग्देल र अशिष्मा नकर्मीले अभिनय गरेका थिए । एक साता मात्र सुटिङ गरिएको यो फिल्म ६ जना मानिसलाई कोरियामा छोड्नकै लागि मात्र कोरियामा छायांकन गरिएको हो कि भन्ने प्रश्न उठेको छ ।
यी बाहेक अन्य थुप्रै फिल्म छन् जसको बन्ने भनेर हल्ला मात्र गरियो तर बनेका छैनन् । नेपाली मेकरहरु फिल्म बनाउँदा विना गृहकार्य नै अगाडी सर्छन् । जसका कारण पनि फिल्म बिचमै अड्किन्छन् । यसैले फिल्म बनाउँदा गृहकार्य आवश्यक देखिन्छ ।