कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डलाई भव्य बनाउन आयोजक मात्र हैन कलाकारहरू पनि लागिपरेका छन् । अभिनेता राजेश हमालदेखि अभिनेत्री झरना थापासम्म अवार्डमा दमदार प्रस्तुती दिने तयारीमा छन् ।

यतिबेला काठमाण्डौमा अवार्डको तयारीका लागि कलाकारहरु नृत्य सिक्नमा व्यस्त छन् । नृत्य निर्देशक वसन्त श्रेष्ठ कलाकारहरूलाई नृत्य सिकाउँदैछन् । यसपटकको अवार्डमा स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै उनले अभिनय गरेका गीतमा कलाकारले नृत्य गर्नेछन् ।
अभिनेता जीवन लुईंटेल र सौगात मल्लले अभिनेत्रीहरू झरना थापा र नन्दिता केसीसँग मिलेर श्रीकृष्णका चर्चित गीतमा नृत्य गर्नेछन् । यस्तै कलाकारहरु दीलिप रायमाझी, केकी अधिकारी, सुदर्शन थापा, गौरव पहारी, निता ढुंगाना, पूजा शर्माले पनि श्रीकृष्णका चर्चित गीतमा नृत्य गर्दैछन् । साथमा मलिना जोशी, अर्पण थापा पनि अवार्डमा स्टेज तताउने सुरमा छन् ।
.jpg)
नेपाल चलचित्र प्राविधिक संघसँगको सहकार्यक्रमा एसके प्रोडक्शनले यो अवार्डको आयोजना गर्न लागेको हो । हङकङका लागि भने ग्रेट पर्फेक्ट कम्पनीले यसको जिम्मा लिएको छ । कात्तिक १ गते कलाकारको टोली हङकङ तर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
कार्यक्रम संयोजक पुष्कर लामाले अझै एक साता नृत्य तयारी चल्ने बताए । अभिनेता राजेश हमालले अवार्डमा श्रीकृष्णलाई श्रद्धाञ्जली दिंदै १० मिनेट लामो कविता वाचन गर्नेछन् । यसपटक अभिनेत्री करिश्मा मानन्धरलाई सदाबहार नायिकाको उपाधीबाट सम्मानित गरिदैछ । कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र एनआरएन अध्यक्ष शेष घले बिशेष अतिथीको रूपमा सहभागी हुने बताईएको छ ।

