बलिउड चर्चित अभिनेता आमिर खानले दृश्यभाषा मनपरेको खण्डमा नेपाली फिल्म खेल्न सक्ने बताएका छन् । उसो त नेपाल आउने हरेक स्टारले बोल्ने यो मिल्दो उत्तर हो ।
आज बिहीबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आमिरले आफूलाई फिल्मले मन छुनुपर्ने बताए । आमिरले फिल्म कुन देशको भन्दा पनि त्यसको प्रस्तुती कस्तो छ भन्ने मुख्य कुरा रहेको बताए । उनले आफूलाई विश्वका हरेक देशका फिल्म खेल्न इच्छा रहेको खुलाए ।
कार्यक्रममा आमिर र नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सुनौला हजार दिनको शुभारम्भ गरे । दुबैजना युनिसेफका सद्भावना दूत हुन् । मंगलबार नेपाल आएका आमिर वुधबार कपिलवस्तु पुगेका थिए । कपिलवस्तुकमा सञ्चालित पोषणसम्बन्धी कार्यक्रममा बुधबार सहभागी भएर फर्किएका खानले स्वास्थ्य क्षेत्रमा खटिएका नेपाली महिला स्वयंसेविकाहरुको प्रशंसा गरे । स्थानिय बासिन्दाले उनीसँग साइकल र झुल मागेका थिए ।
यस्तै आजै आमिरले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा खानले नेपाल र भारत दुबै देशका बालबालिकामा कुपोषण समस्या रहेको जानकारी गराउँदै दुबै देशमा ४० प्रतिशतभन्दा बढी बालबालिकामा पोषणको अभाव देखिएको बताए ।
यता प्रधानमन्त्री कोइरालाले दक्षिण एशियाको आर्थिक सामाजिक विकासमा पछाडि परेको बताउँदै बालबालिका अवस्थामा विगतको तुलनामा सुधार आए पनि विकसित मुलुकजस्तो सुधार नभएको बताए । उनले मुलुकको आर्थिक सामाजिक विकाससँगै बालबालिकाको अवस्थामा पनि सुधार आउने आमिरका सामु विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले खानलाई नेपाल घुम्न सल्लाह दिए भने आमिर स-परिवार नेपाल आउने बताए । 'फुर्सद मिलाएर परिवारसहित नेपाल आउने छु', आमिरले भने । तीन दिने भ्रमण सकाएर खान बिहीबार साँझ भारत फर्केका छन् ।

