८ वर्षको बालकले फिल्म निर्देशन गर्न सक्ला ? यो प्रश्न पूर्वका पत्रकारहरुको दिमागमा प्रेसमिट सुरु हुन अगाडी खेलिरहेको थियो । जब ८ वर्ष मै 'लभ यू बाबा' नामक फिल्म निर्देशन गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने क्रममा रहेका सौगात बिष्टले परिपक्व उत्तर दिए तब पत्रकारहरूमा विश्वास पलायो ।

मङ्सिर २६ बाट देशभर रिलिजको क्रममा रहेको फिल्मको जानकारी गराउन पूर्वको तीन ठाउँ बिर्तामोड, दमक र धरानमा एकै दिन फिल्मको निर्माण युनिटले पत्रकार भेटघाट गरेको थियो । उक्त पत्रकार भेटघाटका क्रममा ८ वर्षे बालकको प्रस्तुत हुने शैली देखेर सबैको उनको तारिफ गरे ।
फिल्मको पूर्वान्चल दौडाहामा निर्देशक सौगात बिष्ट सहित उनका बुवा एवं फिल्मका मुख्य पात्र गजित बिष्ट, अर्की मुख्य पात्र संगम बिष्ट र निर्माता एवं आमा सम्झना पोख्रेलको सहभागिता रहेको थियो । फिल्ममा बाबु र छोरी बिचको मायाप्रेमलाई देखाउन खोजिएको सौगातले जानकारी गराए ।
'नेपाली दर्शकहरुले यो फिल्म हेर्नै पर्छ । कारण, एक नम्बरमा यो फिल्मको निर्देशन मैले नै गरेको हुँँ, दोस्रो कुरा यो बाबु छोरीको कथामा आधारित छ र तेस्रो कुरा यसमा दर्शकले रुचाउने थ्रील, कमेडी र सस्पेन्स छ,' सौगातले प्रेसमिटमा भने, 'फिल्म हेर्न आउनुस् भनेर हात भने जोड्दिन । एक बालकले कस्तो निर्देशन गरेको रै'छ भनेर आँफै आउनु हुनेछ भन्ने विश्वास छ ।'
आमाको माया पाउनबाट बन्चित एउटी सानी छोरीलाई आमाको मायाका अभाव महसुस हुन नदिन एउटा बाबाले गरेको संघर्षको कथा फिल्ममा समेटिएको कथाकार तथा अभिनेता गजित विष्टले बताए । भने, ‘मध्यम वर्गीय परिवारको व्यक्तिले आफ्नो छोरीको हरेक इच्छा, आकांक्षा पूरा गर्न गरेको संघर्षको कथामा आधारित पारिवारिक फिल्म हो यो ।’
फिल्ममा संगम र गजितको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा, बसन्त भट्टलगायतको अभिनय रहेको छ । ४२ लाखको लागतमा निर्माण भएको फिल्ममा ४ वटा गीत समावेश गरिएको छ । फिल्मी पारिवारिक माहोलबाट प्रेरित छोराको क्षमता बाहिर ल्याउन फिल्म निर्माण गरिएको निर्माता सम्झना पोख्रेलले बताईन् ।

