मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.00/5.00)
Text size:-
+
-

जीवन र आर्यनको घम्साघम्सी !

फिल्मीखबर, काठमाण्डौ, 2014/10/08
निखिल उप्रेती र विराज भट्ट हराएसँगै उदाएका दुई चकलेटी अभिनेता जीवन लुईंटेल र आर्यन सिग्देलको घम्साघम्सी फिल्म बजारमा देखिन थालेको छ । फिल्म बनाउनेका लागि आर्यन र जीवन नै पहिलो रोजाईमा पर्न थालेका छन् ।  
 
 
बजारमा दुई अभिनेताको जस्तो अनुहार विक्ने अर्को नहुँदा निर्मातासँग कमजोर विकल्प छ । जसका कारण जीवन र आर्यनको माग त बढेकै छ, फिल्ममा टकराव पनि सुरु भएको छ । कहिले आर्यनको ठाउँमा जीवन त कहिले जीवनको ठाउँमा आर्यन विकल्पको रूपमा देखिने गरेका छन् । कमर्सियल लभस्टोरी फिल्ममा अहिले आर्यन र जीवन कै बोलबोला छ । 
 
आर्यनको डेब्यू फिल्म 'किस्मत' हिट भएसँगै उनका आधा दर्जन फिल्मले सफलता पाए । यता जीवनको डेब्यू फिल्म 'नसिब आफ्नो' हिट नभएपनि दोस्रो फिल्म 'नाईं नभन्नु ल' हिट भयो । जीवनका आधा दर्जन फिल्म बक्स अफिसमा हिट छन् । 
 
संख्यात्मक रूपमा भने यि दुबैका अधिकांश फिल्मले बक्स अफिसमा तहल्का पिटेनन् । यति हुँदाहुँदै पनि आर्यन र जीवन नै अहिलेका स्टार अभिनेता हुन् । आर्यन र जीवनको यो बर्ष आधा दर्जन बढि फिल्म प्रदर्शनमा आउँदैछन् । यसैले पनि दुई अभिनेताको बक्स अफिस लडाईं हुने पक्का छ ।  
 
आर्यनको 'नोभेम्बर रेन' हिट हुनु पूर्व जीवनले अभिनय गरेको 'नाईं नभन्नु ल २' ब्लकबस्टर भएको थियो । यहि बर्ष जीवनको 'शीशा' र 'ठूली' असफल भैसकेकका छन् । यो बर्ष आर्यनको भने अहिलेसम्म एउटा मात्र फिल्म रिलिज भएको छ । 
 
आर्यनको 'लज्जा' र जीवनको 'स्टुपिड मन' कात्तिक ७ मा एकैसाथ रिलिज हुँदैछ । फिल्ममा एकअर्काका प्रतिश्पर्धी मानिने जीवन र आर्यनको यो फिल्मले जीतको रिजल्ट दिनेछ । अर्थात् कस्तो स्टार पावर छ भन्ने रिजल्ट कार्तिक ७ गतेपछि थाहा हुनेछ ।
 
हालै मात्र जीवनले 'नाईं नभन्नु ल ३' नगर्ने घोषणा गरे । त्यहि जीवनले नगरेको भूमिका आर्यनले निर्वाह गर्ने भएका छन् । केहि बर्ष अगाडी मात्रै आर्यनले नगरेको फिल्म 'ब्ल्याक मेल'मा जीवनले अभिनय गरेका थिए ।    
 
'नाईं नभन्नु ल ३'मा आफ्नो रोल मन नपरेको बताउँदै जीवनले छोड्नु र त्यही भूमिका आर्यनले गर्नुमा गहिरो अर्थ लुकेको छ । जीवनलाई फिल्म बजारमा चाँडो भन्दा चाँडो स्थापित गराउन 'नाईं नभन्नु ल' र निर्देशक विकास आचार्यको ठूलो भूमिका छ । यसैले पनि आर्यनले विकाससँग सहकार्य गर्न 'नाईं नभन्नु ल ३' स्विकार गरेको बुझ्न सकिन्छ । यसले आर्यनलाई फाइदा हुने निश्चित छ । 
 
छविराज प्रोडक्शनमा पनि जीवन भन्दा आर्यन नै हाबी देखिएका छन् । देशका दुई चर्चित क्याम्पमा आर्यनले पकड जमाउन खोजेका छन् । सामाजिक संजालदेखि इन्टरनेटमा गतिलो प्रभाव पार्न सफल जीवनका लागि उनका शुभचिन्तक दरिलो हतियार हुन् । सञ्चारमाध्यममा आर्यन भन्दा जीवन अगाडी छन् ।
 
यि दुई अभिनेतालाई एउटै पर्दामा भने अहिलेसम्म कसैले देखाउन सकेका छैनन् । जसले गर्दा केहि समय जीवन र आर्यनको घम्साघम्सी एकअर्काको प्रतिश्पर्धीको रूपमा नेपाली फिल्म बजारमा पर्ने पक्का छ ।