मंगलबार नेपाल आएका बलिउडका अभिनेता आमिर खान यूनिसेफले बिहीबार कपिलवस्तुमा सञ्चालन गरेको पोषण सम्बन्धी कार्यक्रममा सहभागी भए । कपिलवस्तुको पकडी हेल्थपोष्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आमिरले करिब १ घण्टा समय बिताएका थिए ।
आमिरले आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गरे । आमिरले कार्यक्रममा बोल्दै भारतमा जस्तै नेपालमा पनि बालबालिका कुपोषणको शिकार भएकाले यसबारेमा जनचेतना जगाउन नेपाल आएको बताए ।
कार्यक्रममा सहभागी भएपश्चात उनी अहिले लुम्बिनि प्रस्थान गरेका छन् । आमिर त्यहाँ खाना खाएर मायादेवी मन्दिरको अवलोकन गरी अपरान्ह्र ३ बजे राजधानी फर्कदै छन् । दुईदिने नेपाल भ्रमणका लागि उनी मंगलबार दिउँसो साढे एक बजे आएका हुन् । छ सुरक्षागार्डसहित नेपाल आएका आमिरलाई यूनिसेफले ल्याएको हो ।
यूनिसेफको सार्क क्षेत्रिय सदभावना दूत रहेका आमिर सामाजिक कार्यमा निकै सकृय देखिने अभिनेता हुन् । 'सत्यमेव जयते' मार्फत पनि उनले सामाजिक मुद्दालाई राष्ट्रियकरण गर्ने प्रयास गरिरहेका छन् । तीन वर्षदेखि उनी युनिसेफसँग आबद्ध रही काम गरिरहेका छन्।

