
मधेशमा व्याप्त दाइजो प्रथाको कथामा आधारित भएर निर्माण भएको मैथिली फिल्म ‘राज्जा रानी’ ले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । भारत, बिहारको मुजफरपुरमा मार्च ५ देखि ७ सम्म भएको फेस्टिभलको अन्तिम दिन फिल्मलाई उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड प्रदान गरिएको हो ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यही फागुन २७ गतेबाट बाँकी छायांकन सुरु गर्न लागेको निर्माण टिमले सोमवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा फिल्म प्रदर्शनमा आउन लागेको हो ।

भर्सटायल कलाकार सतिश कौशिक निर्देशित तथा अभिनेता पंकज त्रिपाठी अभिनीत फिल्म ‘कागज’ ७ जनवरीमा ओटीटी प्लेटफर्म जी-५ मा रिलिज भएको थियो । फिल्मले उठाएको विषयवस्तु र पंकजको मनछुने अभिनयले ओटीटीमा फिल्मलाई दर्शकले निकै रुचाए । ७.३ आइएमडिवी रेटिङ पाएको यो फिल्मलाई सलमान खानको प्रोडक्सन हाउसले निर्माण गरेको हो ।

निर्देशक सुदर्शन थापाले ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी दोहोर्याउँदै फिल्म ‘सम्हालिन्छ कहिले मन’ को घोषणा गरेका थिए । दुई वर्ष अगाडि बेलायतमा ४५ दिनसम्म छायांकन भएको यो फिल्म नेपालको मुस्ताङ र काठमाडौंमा पनि खिचिएको छ । निर्माण टिमले गत वर्षको भदौ ५ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको थियो ।

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच फागुन २२ गते तीन बुँदे सहमतिमा हस्ताक्षर भएपछि हिंसाको बाटो त्याग्दै शान्तिपूर्ण राजनीतिमा फर्किएका नेत्रविक्रम चन्द ‘विप्लव’ सँग अभिनेत्री रेखा थापाले भेट गरेकी छन् । आइतवार लाजिम्पाटस्थित विप्लव बस्दै आएको घरमा भएको भेटमा उनले ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीतिमा आएकोमा धन्यवाद र बधाई ज्ञापन गरेकी थिइन् ।

अभिनेत्री मनीषा कोइरालाले नेपाली कलाकारहरुले प्लेटफर्म पाउन नसकेको बताएकी छन् । शनिवार जनकपुर साहित्य महोत्सवको ‘सिनेमाको रङ्ग’ सत्रमा बोल्दै उनले नेपालमा कलाकारको अभाव नरहे पनि ठूलो प्लेटफर्म पाउन नसकेको तीतो यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताइन् । राज्यले बेवास्था गरेका कारण पनि नेपाली फिल्म क्षेत्रले प्रगति गर्न नसकेको उनको भनाई छ ।

