.jpg)
‘धौली’, ‘लण्डन टू पेरिस’, ‘पञ्चेबाजा’ जस्ता फिल्मका निर्देशक घनश्याम लामिछानेले ‘तिमी मेरो म तिम्रो’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच यो फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो । सो अवसरमा फिल्मका मुख्य कलाकारहरू पनि चिनाइएको थियो ।
‘चित्रा’का निर्माता सन्तोष अधिकारीले निर्माण गर्ने यस फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी लगायतका कलाकारहरूको अभिनय रहनेछ । यो फिल्मबाट प्रतिमा थापाले अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन् । मोडलिङ पृष्ठभूमिकी उनले यसअघि ‘चित्रा’मा ‘हेड अफ प्रोडक्सन’को रूपमा काम गरेकी थिइन् ।
आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको प्रस्तुतिमा बन्ने यस फिल्मका सह-निर्मातामा राज श्रेष्ठ र आशिष थापा मगर रहेका छन् भने तेजविक्रम केसी लाइन प्रोडुसरको रूपमा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, मनिष गौतमको लेखन तथा युग भुसालको संगीत रहनेछ । आगामी जेठ दोस्रो साताबाट फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।
फिल्मको घोषणा कार्यक्रममा भुवन केसीले आफूलाई कथावस्तुदेखि शीर्षकसम्म मन परेको बताए । उनले भने, ‘सुरुमा त मलाई फिल्मको शीर्षक नै एकदमै ‘क्याची’ लाग्यो । कथावस्तु पनि युवापुस्ताका दर्शकलाई मनपर्ने खालको छ । त्रिकोणात्मक प्रेमकथा सुन्दर ढंगले लेखिएको छ । मलाई निर्मातासहितको टिम र भूमिका पनि राम्रो लागेपछि फिल्ममा जोडिएको हुँ ।’

