.jpg)
निर्देशक सुदर्शन थापाले ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी दोहोर्याउँदै फिल्म ‘सम्हालिन्छ कहिले मन’ को घोषणा गरेका थिए । दुई वर्ष अगाडि बेलायतमा ४५ दिनसम्म छायांकन भएको यो फिल्म नेपालको मुस्ताङ र काठमाडौंमा पनि खिचिएको छ । निर्माण टिमले गत वर्षको भदौ ५ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको थियो ।
तर, विविध कारणले निर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको यो लभस्टोरी ड्रामाको अझै छायांकन नै सकिएको रहेनछ । आठ दिनको सेड्युल तयार पारेर फिल्मको टिम बाँकी छायांकनका लागि दुबई प्रस्थान गरेको छ । त्यहाँ फिल्मको गीत र केही सिनहरु खिचिने निर्देशक थापाले जानकारी दिए । दुबईमा एक हप्ता लामो छायांकनपछि फिल्म प्याकअप हुने उनले बताए ।
दुबईबाट उनले भने- ‘फिल्मको छायांकन सकिएकै थिएन । कोरोनाका कारण फिल्मको बाँकी छायांकन गर्न पाएका थिएनौं । अब केही दृश्य र गीत दुबईमा खिच्नेछौं ।’ दुबईमा पूजा र आकाशसँगै यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका सोनम तोप्देनको दृश्य खिचिनेछ । आइतवार दुबई उड्दै गर्दा पूजा र आकाशले दर्शकहरुले चाँडै फिल्म हेर्न पाउने विश्वास दिलाए ।
एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन् । सौरभ लामा छायाँकार रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट फिल्मको नाम सापटी लिइएको हो ।

