Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवसँग रेखाको भेट

फिल्मीखबर, काठमाडौं, 2021/03/08
नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच फागुन २२ गते तीन बुँदे सहमतिमा हस्ताक्षर भएपछि हिंसाको बाटो त्याग्दै शान्तिपूर्ण राजनीतिमा फर्किएका नेत्रविक्रम चन्द ‘विप्लव’ सँग अभिनेत्री रेखा थापाले भेट गरेकी छन् । आइतवार लाजिम्पाटस्थित विप्लव बस्दै आएको घरमा भएको भेटमा उनले ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीतिमा आएकोमा धन्यवाद र बधाई ज्ञापन गरेकी थिइन् ।
 
हिंसात्मक गतिविधि गरेपछि दुई वर्ष अगाडि सरकारले ‘विप्लव’ को पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला अभिनेत्री थापाले सरकारी कदमको खुलेरै विरोध गरेकी थिइन् । केही समय अगाडि एक अन्तर्वार्तामा उनले ‘विप्लव’ ले सत्ता चलाएको हेर्ने इच्छा समेत व्यक्त गरेकी थिइन् । शान्तिपूर्ण राजनीतिमा आए लगत्तै रेखाले ‘विप्लव’ सँग भेट गर्नुलाई धेरैले विशेष रुपमा हेरेका छन् । 
 
 
‘विप्लव’ सँगको भेटको बारेमा उनले भनिन्, ‘पहिलो कुरा म यो देशको नागरिक हुँ । त्यसपछि मात्रै कलाकार हुँ । नागरिकको हिसाबले शान्तिपूर्ण राजनीतिमा आउनु सबैका लागि राम्रो कुरा हो । एउटा कलाकारको हिसाबले पनि अहिले वातावरण विग्रिएको अवस्थामा खुल्ला राजनीतिमा आउने सबैलाई स्वागत गर्नुपर्छ । म उहाँलाई स्वागत गर्न गएको हुँ । अरु केही कारण छैनन् ।’
 
‘विप्लव’ सँगको भेटलाई शंका-उपशंकाबाट हेर्न आवश्यक नरहेको पनि उनले बताएकी छन् । ‘मैले आजसम्म घुमाएर फिराएर कुनै काम गरेको छैन । हरेक मान्छेको एजेन्डा हेरेर समर्थन गर्ने वा नगर्ने सबैलाई आ-आफ्नो स्वतन्त्रता हुन्छ । शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी लागेर मैले ‘विप्लव’ सँग भेटेको हुँ । यसमा शंका-उपशंका पाल्नुपर्ने कारण छैन,’ उनले भनिन् । 
 
हिंसात्मक गतिविधिको विरोध गरे पनि सरकारले प्रतिबन्ध लगाएपछि अभिनेत्री थापाले ‘विप्लव’ समुहको निरन्तर समर्थन गर्दै आएकी थिइन् । फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्कीलाई विप्लव समुहको नेता भएको भन्दै २०७६ असारमा प्रहरीले पक्राउ परेपछि उनले सरकारविरुद्ध आक्रोश पोखेकी थिइन् । नेता कार्कीका कारण उनी विप्लवसँग नजिक भएको बताइन्छ । 
Most Visited News (monthly)