
भर्सटायल कलाकार सतिश कौशिक निर्देशित तथा अभिनेता पंकज त्रिपाठी अभिनीत फिल्म ‘कागज’ ७ जनवरीमा ओटीटी प्लेटफर्म जी-५ मा रिलिज भएको थियो । फिल्मले उठाएको विषयवस्तु र पंकजको मनछुने अभिनयले ओटीटीमा फिल्मलाई दर्शकले निकै रुचाए । ७.३ आइएमडिवी रेटिङ पाएको यो फिल्मलाई सलमान खानको प्रोडक्सन हाउसले निर्माण गरेको हो ।
फिल्मले ओटीटीमा हासिल गरेको सफलताको बारेमा निर्देशक कौशिक भन्छन्, ‘हामीलाई ओटीटी प्लेटफर्ममा सिक्सेसको नाप थाहा छैन । तर, जी-५ ले जुन लक्ष्य दश दिनमा राखेको थियो, त्यो ‘कागज’ ले दुई दिनमा पूरा गर्यो । यस अर्थमा ओटीटीमा हाम्रो फिल्म सफल भएको छ । एक हप्तामा फिल्मलाई चार मिलियनले हेरेका थिए । फिल्मको सफलताबाट सलमान पनि खुसी छन् ।’
ओटीटी प्लेटफर्ममा सबैभन्दा बढी हेरिने फिल्ममध्ये ‘कागज’ चौथौ नम्बरमा रहेको उनको दाबी छ । उनले फिल्म निर्माणमा सलमान खानबाट ठूलो सहयोग मिलेको पनि बताए । उनले सलमानसँग पुनः अर्को फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । २००३ मा आएको फिल्म ‘तेरे नाम’ मा सतिशले सलमानलाई निर्देशन गरेका थिए । यसबेलादेखि उनीहरुबीच सुमधुर सम्बन्ध छ ।

