

अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा अग्नीलाई साक्षी राखेर उनीहरुले एकसाथ जीवन विताउने प्रण गरेका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।

निर्देशक प्रियदर्शनको कमेडी फिल्म ‘हंगामा २’ को कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । १८ वर्षपछि सिक्वेल निर्माण भएको फिल्ममा एकपटक फेरि राधेश्याम तिवारीको भूमिकामा परेश रावल छन् भने उनको श्रीमतीको भूमिकामा शिल्पा शेट्टी देखिँदैछिन् । दर्शकलाई फिल्मको ट्रेलर निकै मन परेको छ । २३ जुलाई २०२१ मा डिज्नी प्लस हटस्टारमा फिल्म रिलिज हुँदैछ ।

सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले विश्वको प्रतिष्ठित अस्कार अवार्ड जित्ने नेपाली फिल्मलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बिहीवार बोर्डले २१औं वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनौट भए २ लाख र नोमिनेशन वा अवार्ड नै जिते ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘तिम्रो मेरो साथ’ को स्वरांकन (डबिङ) सुरु भएको छ । निषेधाज्ञाभन्दा अगाडि फिल्मको छायांकन सकिएको थियो । कोरोनाको दोस्रो चरणको महामारी सुरु भएपछि फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु हुन पाएको थिएन । निषेधाज्ञा खुकुलो भएसँगै फिल्मको डबिङ सुरु भएको हो ।

अभिनेता सुनील शेट्टीका छोरा अहान फिल्म ‘तडप’ बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । यसमा उनको अपोजिटमा अभिनेत्री तारा सुतारिया छिन् । फिल्मको छायांकन पूरा भइसकेको छ भने स्थिति सामान्य भएर सिनेमा हल खुलेपछि प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । अहान डेब्यू फिल्मलाई लिएर निकै उत्साहित छन् । फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भइसकेको छ ।

