
बलिउडका दिग्गज कलाकार दीलिप कुमारको ९८ वर्षको उमेरमा बुधवार विहान निधन भएको छ । बलिउडका ‘ट्रेजेडी किङ’ को रुपमा चिनिने उनको मुम्बईको एक अस्पतालमा उपचारको क्रममा विहान ७ः३० बजे निधन भएको हो । उनी लामो समयदेखि विरामी थिए । गएको एक महिनामा उनी दुईपटक अस्पताल भर्ना भएका थिए । उनको निधनले बलिउड शोकमा डुबेको छ ।

बलिउड फिल्ममेकर करण जोहरले पाँच वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्मको मंगलवार औपचारिक घोषणा गरिएको छ । उनको नयाँ फिल्मको नाम ‘रक्की और रानी कि प्रेम कहानी’ हो । फिल्ममा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा हुनेछन् । यसअघि उनीहरुले ‘गुल्ली ब्वाई’ मा काम गरेका थिए ।

सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरी गाउँ तहसनहस बनाएको छ । बाढीका कारण सयौं बेघर भएका छन् । उनीहरुलाई सहायता उपलब्ध गराउन कलाकारहरु सक्रिय रुपमा लागेका छन् । अभिनेता कृष्ण मल्लको संयोजकत्वमा सिन्धु सहयोग कोष स्थापना भएको छ भने केही कलाकारले बाढी पीडितलाई राहत सामाग्री बाँडिसकेका छन् ।

अभिनेत्री सुहाना थापा फिल्ममा आउनुभन्दा अगाडि अमेरिकामै बसेर अध्ययन गर्दै आइरहेकी थिइन् । उनी सानै उमेरदेखि त्यहाँ बसेर पढ्न थालेकी हुन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेपछि भने उनको नेपाल र अमेरिका आउजाउ बाक्लै रुपमा हुने गरेको छ । अमेरिकाको नोभा कलेजबाट अहिले उनले मनोविज्ञान (फिजियोलोजी) मा स्नातक गरिरहेकी छन् ।

फिल्म निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दामा उनलाई सीआईबीको टोलीले सोमवार बिजुली बजारबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार, राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख ऋण लिएका थिए । तर, भुक्तानी गर्दा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।

कोरोना महामारीका कारण देशभर सिनेमा हलहरु बन्द हुने क्रम बढेको छ । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन् भने ३०/४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा छन् । सिनेमा हल बन्द हुँदा हल सञ्चालकलाई त घाटा हुन्छ नै, करोडौंमा फिल्म बनाउने निर्मातालाई समेत ठूलो नोक्सानी हुन्छ ।

