
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘तिम्रो मेरो साथ’ को स्वरांकन (डबिङ) सुरु भएको छ । निषेधाज्ञाभन्दा अगाडि फिल्मको छायांकन सकिएको थियो । कोरोनाको दोस्रो चरणको महामारी सुरु भएपछि फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु हुन पाएको थिएन । निषेधाज्ञा खुकुलो भएसँगै फिल्मको डबिङ सुरु भएको हो ।
निषेधाज्ञा भए लगत्तै जन्मथलो कैलाली पुगेका पुष्प डबिङका लागि काठमाडौं फर्किसकेका छन् । बुधवारदेखि पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रीले आफ्नो भागको डबिङ सुरु गरेको फिल्मका निर्देशक तथा निर्माता रमेश एमके पौडेलले जानकारी दिए । फिल्मको रेड स्टूडियोमा पोष्ट प्रोडक्सनको काम भइरहेको छ । भदौसम्म फिल्मलाई प्रदर्शनका लागि तयार गर्ने योजनामा निर्माण टिम छ ।
फिल्ममा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । फिल्मलाई नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्देशक पौडेलले बताए । नेपालमा भने दशैं र तिहारको बीचमा रिलिज गरिनेछ । बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको यो लभस्टोरी ड्रामाका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।
फिल्ममा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ । सविर श्रेष्ठको कथा र योगेश काजीको संगीत रहेको फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । यसअघि पुष्प र साम्राज्ञीले फिल्म ‘मारुनी’ मा एकसाथ काम गरेका थिए । जसमा उनीहरुको केमेस्ट्री निकै रुचाइएको थियो ।

