.jpg)
विवाहको मौसम सुरु भएपछि अविवाहित सेलिब्रेटीलाई हरबार सोधिने प्रश्न हो, ‘बिहे कहिले गर्ने त ?’ कतिपयले घर, समाज, मिडियाको दबाबमा परेर बिहे गर्छन् पनि अनि कतिपय त्यसलाई नजरअन्दाज गरेर हिँडिरहन्छन् । बिहेपछि करिअरमा असर पर्ने डरले पनि प्रायः कलाकार विवाहका लागि हतार गर्दैनन् । तर, बिहेको दबाब भने उनीहरुले हरेक वर्ष नझेली सुखै पाउँदैनन् ।
अभिनेत्री अदिती बुढाथोकीलाई पनि अचेल बिहेको प्रश्नले हैरान बनाइरहेको छ । उनलाई यो प्रश्नले कतिसम्म टाउको दुखाएको छ भन्ने कुरा हालै इन्स्टाग्राममा एक फ्यानले बिहेको प्रश्न गर्दा उनले दिएको जवाफले बयान गर्छ । एक भारतीय प्रशंसकले उनलाई हिन्दीमा आप शादी कब करोगे ? भनेर सोधेका छन् । जवाफमा उनले लेखेकी छन्, ‘अरे यार बस भी करो, नहीं कर्नी सादी ।’
त्यस्तै, अर्का फ्यानले उनीसँग लभ एडभाइस मागेका छन् । जसको जवाफ दिँदै उनले लेखेकी छन्, ‘प्रेममा हुनु सबैभन्दा मायालु महशुस हो । आफूसँग कोही हुनु, राम्रो कुरा हो । तर, विशेष व्यक्तिलाई प्रेम र प्रशंसा गर्ने कोशिशमा तपाईं आफ्नो स्वाभिमान नगुमाउनुस् । पहिला आफूलाई प्रेम गर्नुस् ।’ उनी पनि केही समयदेखि भारतीय र्यापर अलिम मोरानीको प्रेममा रहेको चर्चा छ ।
फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती चार वर्षपछि फिल्म ‘बाबरी’ बाट अभिनयमा कमब्याक गर्दैछिन् । यो फिल्ममा उनको परिवारले लगानी गरेको छ । फिल्मको पहिलो चरणको छायांकन पूरा भइसकेको छ भने दोस्रो चरणको छायांकन स्थिति सामान्य भएपछि भारतको सिक्किमबाट सुरु हुनेछ । फिल्ममा उनले अभिनेता धिरज मगरसँग स्क्रिन शेयर गरेकी छन् ।

