
सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले विश्वको प्रतिष्ठित अस्कार अवार्ड जित्ने नेपाली फिल्मलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बिहीवार बोर्डले २१औं वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनौट भए २ लाख र नोमिनेशन वा अवार्ड नै जिते ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै, गोल्डेन ग्लोब अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन फिल्म अवार्डमा छनौट भएर स्क्रिनिङ भए १ लाख र विजेता बने २ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पाउनेछन् । कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम जस्ता फेस्टिभलमा छनौट हुने फिचर फिल्मले २ लाख ५० हजार र छोटो फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ ।
‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वका प्रतिष्ठित ल्याबमा जाने फिल्मलाई ३ लाखदेखि ५० हजारसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउनुका साथै फिल्मकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि २ लाखदेखि २५ हजार रुपैयाँसम्म प्रदान गरिने बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । अर्थ मन्त्रालयबाट कार्यविधि पास भएसँगै ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको हो ।
आर्थिक वर्ष ०७८/७९ को बजेटमा सरकारले स्टोरी बैंकको अवधारणलाई अगाडि बढाउने निर्णय गरेको थियो । जसका लागि बोर्डले चाँडै स्क्रिप्ट आह्वान गर्ने तयारी थालेको छ । यसरी आएका स्क्रिप्टमध्ये ३ स्क्रिप्टलाई नगद सहयोग गरिने बोर्ड अध्यक्ष दाहालले बताए । उनले काभ्रेको साँगामा बन्न लागेको फिल्म स्टुडियो पनि चाँडै टेन्डरको प्रक्रियामा जान लागेको जानकारी दिए ।

