
फिल्म ‘लभ लभ लभ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका सुरज पाण्डेले फिल्म ‘परस्त्री’ बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच यो फिल्मको निर्माण घोषणा गरियो । फिल्ममा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । फिल्मको घोषणा सभामा उनी भिन्न गेटअपमा देखिएका थिए । यस फिल्मको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् ।

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ । देशभरका मल्टीप्लेक्सहरुमा सय बढी बढी शो र अधिकांश सिंगल थिएटरमा उपस्थिति जनाएको फिल्मले पहिलो हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको थियो । ‘माउथ पब्लिसिटी’ बलियो रहेकाले दोस्रो हप्तामा पनि फिल्मलाई दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी आँचल शर्माले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गरेकी छन् । नेपाली कलाकार विष्णु अधिकारी निर्देशित तथा अभिनीत तेलुगू फिल्म ‘हिटम्यान’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । फिल्मको नेपालमा ४० प्रतिशत छायांकन भएको बताइएको छ । नेपालको भागमा आँचलले नेपाली नै संवाद बोलेकी छन् ।

अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसी फिल्म हेर्नका लागि कमै मात्र हल पुग्ने गरेका छन् । घरमै बसेर विभिन्न ओटीटी प्लेटफर्मबाट विश्वका फिल्म हेर्दै आएका उनले राम्रो चर्चा बटुलेका र समीक्षात्मक रुपमा प्रशंसा कमाएका नेपाली फिल्म भने हलमै गएर हेर्ने गरेका छन् । तर, उनी हलमा गएर फिल्म हेरेको जानकारी न फिल्मको निर्माण टिमलाई हुन्छ न त सञ्चार माध्यमलाई ।

गत वर्ष कोरोना महामारीका बीच छायांकन भएको फिल्म ‘कौसीद’ को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा कलाकार भोलाराज सापकोटा अन्धकार कोठाभित्र पिँजडामा खरायो बोकेको अवस्थामा देखिएका छन् । वित्तिय ऋणको चपेटामा परेको पात्रको संघर्षको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।

फिल्म निर्माणमा सफल मानिएका निर्माता माधव वाग्ले अब निर्देशनमा फड्को मार्दैछन् । सुरुमा उनी अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ को निर्देशन गर्ने तयारीमा थिए । पछि उनले फिल्मको सम्पूर्ण अधिकार भुवन केसीलाई सुम्पिएर आफू भने बाहिरिए । यसपछि चलचित्र विकास बोर्डमा उनले दुई फिल्म ‘हिमानी’ र ‘विवेक’ दर्ता गरे । दुवै फिल्मलाई उनी आफैंले निर्देशन गर्दैछन् ।

