.jpg)
फिल्म निर्माणमा सफल मानिएका निर्माता माधव वाग्ले अब निर्देशनमा फड्को मार्दैछन् । सुरुमा उनी अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ को निर्देशन गर्ने तयारीमा थिए । पछि उनले फिल्मको सम्पूर्ण अधिकार भुवन केसीलाई सुम्पिएर आफू भने बाहिरिए । यसपछि चलचित्र विकास बोर्डमा उनले दुई फिल्म ‘हिमानी’ र ‘विवेक’ दर्ता गरे । दुवै फिल्मलाई उनी आफैंले निर्देशन गर्दैछन् ।
‘पारस’ बाट हात झिकेपछि उनले फिल्म ‘विवेक’ को घोषणा गरेका थिए । उनले मुख्य भूमिकामा नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गरिसकेका छन् । तराई क्षेत्रमा छायांकन हुने फिल्मका लागि मधेशी चरित्र छनोट गर्न जनकपुरमा अडिसन समेत भएको थियो । तर, गत जेठबाटै छायांकनमा निस्कने भनिएको फिल्मको अझै छायांकन सुरु हुन सकेको छैन ।
फिल्म ‘हिमानी’ को पनि छायांकन अन्योलमा छ । निर्माता माधव वाग्लेले चर्चाका लागि मात्र फिल्मको घोषणा गरेको भन्ने खालका टिप्पणी फिल्मवृतमा भइरहेको छ । तर, उनी कोरोनाका कारण आफू पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘संक्रमण फेरि बढ्दै छ । सुटिङ भइरहँदा लकडाउन भयो भने समस्या हुन्छ भनेर अहिले ‘पर्ख, हेर अनि अगाडि बढ’ को अवस्थामा छु,’ उनले भने ।
वाग्लेले ‘हिमानी’ र ‘विवेक’ मध्ये कुन फिल्मको छायांकन अगाडि गर्ने भन्नेमा छलफल भइरहेको पनि बताए । उनले अगाडि भने- ‘दुवै फिल्मको बजेट ठूलो छ । ‘विवेक’ मा चार करोड र ‘हिमानी’ मा दुई करोड लाग्छ । दुवै फिल्मको स्क्रिप्ट लक भइसकेको छ । तर, कुन फिल्मको छायांकन अगाडि गर्ने भन्ने चाहिँ टुंगो भइसकेको छ ।’ दुवै फिल्मको स्क्रिप्ट बलियो रहेको उनको भनाई छ ।

