अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसी फिल्म हेर्नका लागि कमै मात्र हल पुग्ने गरेका छन् । घरमै बसेर विभिन्न ओटीटी प्लेटफर्मबाट विश्वका फिल्म हेर्दै आएका उनले राम्रो चर्चा बटुलेका र समीक्षात्मक रुपमा प्रशंसा कमाएका नेपाली फिल्म भने हलमै गएर हेर्ने गरेका छन् । तर, उनी हलमा गएर फिल्म हेरेको जानकारी न फिल्मको निर्माण टिमलाई हुन्छ न त सञ्चार माध्यमलाई ।
.jpg)
गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ पनि उनले हलमै गएर हेरेका छन् । आइतवार राजधानीको एक हलमा आफ्ना केही नजिकका साथीसँग गएर उनले फिल्म हेरेका थिए । फिल्म हेरेपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘उत्कृष्ट फिल्म’ भन्दै तारिफ गरेका थिए । बुधवार उनले फेरि एकपटक पिता भुवन केसीको साथमा फिल्म हेरेको जानकारी प्राप्त छ ।
अनमोलले आफू अभिनीत फिल्म नै दोहोर्याएर हेरेको रेकर्ड छैन । उनले अरु नेपाली फिल्म पनि दोस्रो पटक हलमा नै गएर नहेरेको अनमोल निकट स्रोतले जानकारी दिएको छ । उनलाई ‘कठपुतली’ को कथावस्तु, प्रस्तुती, कलाकारको अभिनय र ब्याकग्राउन्ड स्कोर उत्कृष्ट लागेको बताइएको छ । उनका पिता तथा सुपरस्टार भुवन केसीलाई पनि फिल्म निकै मन परेको छ ।
‘माउथ पब्लिसिटी’ राम्रो रहेको फिल्मलाई अन्य फिल्मकर्मीहरुले पनि साथ दिएका छन् । बुधवार अभिनेत्री मिरुना मगरसहितको टोलीले नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा गएर फिल्म हेरेको थियो । मिरुनाले ‘फिल्म उत्कृष्ट’ बनेको भन्दै सोसल मिडियाबाट सम्पूर्ण टिमलाई बधाई दिएकी छन् । दर्शक र फिल्मकर्मीहरुबाट मिलेको साथ र सहयोगले निर्माण टिम प्रफुलित देखिएको छ ।

पृथ्वी राना मगर निर्मित तथा भिमसेन लामा निर्देशित यस फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा निर्माण भएको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

