
कोरोना महामारीअघि नेपालमा फिल्म सम्बन्धि अवार्ड कार्यक्रम ‘च्याउँ उम्रे सरह’ आयोजना हुने गरेका थिए । प्रत्येक वर्ष १०/१५ वटासम्म अवार्ड हुन्थे । तर, चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट बाँड्ने राष्ट्रिय अवार्डदेखि प्राइभेट कम्पनीहरुले वितरण गर्ने अवार्डसम्म विवादरहित भने हुन सकेको छैन । नेपालमा अवार्ड गोटा गन्तीमा विक्री हुने गरेको आरोप लाग्दै आएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को सोमबारबाट छायांकन सुरु भएको छ । काठमाडौंको महेन्द्र निधि अस्पतालबाट दृश्य खिच्न सुरु गरिएको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ मुख्य भूमिकामा छन् । यो फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएपछि भारतका कतिपय राज्यमा निषेधाज्ञा लागू हुँदा हलहरु बन्द भएका छन् । जसले गर्दा रिलिजको तयारीमा रहेका बलिउडका केही ठूला फिल्मको रिलिज रोकिएको छ । माघ दोस्रो साताबाट नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमित बढ्ने स्वास्थ्य मन्त्रालयको अनुमानपछि रिलिज तोकेर बसेका नेपाली फिल्म पनि ‘पर्ख र हेर’ अवस्थामा छन् ।

बलिउडमा साउथ फिल्मको हिन्दी रिमेक निर्माण गर्ने ट्रेन्ड फस्टाउँदो छ । नेपालमा भने हिट गीतको नाम सापटी लिएर फिल्म निर्माण हुने क्रम बढेको छ । ‘रातो टीका निधारमा’, ‘म यस्तो गीत गाउँछु’, ‘हजार जनीसम्म’, ‘कसले चोर्यो मेरो मन’ ‘साइँली’ लगायत धेरै हिट गीतको नाममा फिल्म निर्माण भएका छन् । तर, एकाध फिल्मले मात्र गीत जस्तो सफलता हासिल गरेका छन् ।

भारतको दोस्रो ठूलो फिल्म उद्योग मानिने साउथ फिल्म पछिल्लो समय बलिउड फिल्मका लागि चुनौती बनेको छ । प्राविधिक रुपमा बलिउड फिल्मभन्दा साउथ फिल्म अब्बल बन्न थालेका छन् भने बजेट र कमाईको मामलामा पनि बलिउड फिल्मभन्दा अगाडि देखिएको छ । बलिउड फिल्मको दबदबा मानिने भारतको कयौं राज्यमा यतिबेला साउथ फिल्मले किल्ला गाँडेको छ ।

फिल्म रिलिजको समयमा निर्माता र कलाकारको सम्बन्ध चिसिएका धेरै उदाहरण छन् । टिमभित्रै मनमुटाव हुँदा त्यसको असर फिल्मको प्रचारमा पर्छ । यही पुष ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारसँग पनि फिल्मका मुख्य कलाकारहरुको पानी बारबारको सम्बन्ध छ । जसले गर्दा फिल्मको प्रचारमा कलाकारहरुले साथ दिएका छैनन् ।

