फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी आँचल शर्माले पहिलो पटक तेलुगू फिल्ममा अभिनय गरेकी छन् । नेपाली कलाकार विष्णु अधिकारी निर्देशित तथा अभिनीत तेलुगू फिल्म ‘हिटम्यान’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । फिल्मको नेपालमा ४० प्रतिशत छायांकन भएको बताइएको छ । नेपालको भागमा आँचलले नेपाली नै संवाद बोलेकी छन् ।

बिहीवार राजधानीमा आयोजित टिजर सार्वजनिक कार्यक्रममा आँचलले पहिलो पटक विदेशी फिल्ममा काम गर्दा नौलो अनुभव भएको बताइन् । उनले भनिन्, ‘मलाई विष्णुजीले आधा घन्टामै मेरो चरित्रदेखि स्क्रिप्ट बुझाउनुभएको थियो । मलाई उहाँले निर्देशक र कलाकार दुवै हिसाबले स्क्रिप्ट भन्नुभएको थियो । उहाँको स्क्रिप्ट भनाई र लगनशिलता देखेरै मैले काम गर्न ‘ओके’ भनेको थिएँ ।
तेलुगूमा नेपाललाई चिनाउन सके त्यो नै गर्वको कुरा हुने आँचल बताउँछिन् । नेपालभन्दा तेलुगू फिल्ममा काम गर्ने शैली फरक रहेको उनको अनुभव छ । ‘म फिल्ममा नेपालको पार्टमा मात्र छु । तर, मलाई भूमिका मन परेपछि काम गर्न तयार भएको थिएँ । कलाकार भएपछि एउटै भाषाको फिल्म मात्र गर्नुपर्छ भन्ने हुँदैन । ‘हिटम्यान’ मा काम गर्दा धेरै सिक्ने अवसर पाएँ,’ उनले भनिन् ।
विवाहपछि आँचलले नेपाली फिल्ममा काम गरेकी छैनन् । ‘नेपाली फिल्म नपाएरै तेलुगू गर्नुभएको हो ?’ भन्ने एक पत्रकारको प्रश्नमा उनले कहिले काहिँ फिल्म अफर नआउनु ठूलो कुरा नभएको बताइन् । तर, नेपाली कलाकारले नेपाली फिल्ममा कामै नपाउने भन्ने चाहिँ नहुने उनी बताउँछिन् । कोरोनाका कारण फिल्म साइन गरेर छायांकनमा गइहाल्ने अवस्था नभएको उनको भनाई छ ।
.jpg)
‘हिटम्यान’ का निर्देशक अधिकारीले आँचल शर्मालाई भेट्नु अघि र भेटेपछिको आफ्नो धारणा फरक रहेको बताए । उनले भने, ‘आँचलजीलाई भेट्नुभन्दा अगाडि घमन्डी हुनुहुन्छ रे भन्ने सुनेको थिएँ । यसकारण पनि उहाँलाई भेट्नुभन्दा अगाडि मेरो धारणा फरक थियो । तर, आँचलजीलाई भेटेपछि मैले सुनेका कुराहरु सबै गलत रहेछन् । उहाँ मेहनती र कामप्रति इमान्दार हुनुहुन्छ ।’
फिल्मका लागि अरु केही अभिनेत्रीहरुसँग पनि कुराकानी भएको बताउँदै विष्णुले आँचल शर्माको फेस तेलुगूमा पनि सुहाउने भएरै अनुबन्ध गरेको बताए । उनी आँचलको कामबाट आफू प्रभावित भएको बताउँछन् । प्रशान्त ताम्राकार, मिलन सिजापति र अदिति शर्मा लगायतको अभिनय रहेको फिल्मलाई मार्च महिनासम्म भारत र नेपाल दुवै देशमा रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

