
लण्डनस्थित संसारकै दोस्रो ठूलो थिएटर चेन आइम्याक्स सिनेवर्ल्डमा हुन लागेको मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को विश्व प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अतिथिको रुपमा सहभागी हुने भएका छन् । बुधबार निर्देशक चाम्सले उनलाई प्रिमियरमा सहभागिताका लागि निम्तो पत्र दिएका थिए । र, साम्पाङले प्रिमियरमा आफू सहभागी हुने वचन दिएका छन् ।

एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर फर्किएका अभिनेता पल शाहले यतिबेला लगाम लगाएको घोडा जस्तै म्यूजिक भिडियोलाई मात्र समय दिइरहेका छन् । गएको दुई महिनामा उनका आधा दर्जनभन्दा बढी म्यूजिक भिडियो सार्वजनिक भैसकेका छन् भने त्यही संख्यामा रिलिजको तयारीमा छन् । विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा पनि उनको व्यस्तता बढ्न थालेको छ ।

गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी कुसुम शर्मा अब हिरोइन बन्ने भएकी छन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जीवनी’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ । मंगलबार एउटा पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम र मुख्य कलाकारको बारेमा जानकारी गराइएको हो ।

यही असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । बोर्डले फिल्ममा समावेश चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ । मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेका थिए ।

अभिनेता सरोज खनालको पहिलो निर्देशकिय फिल्म ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार इन्टरनेट रिलिज भएको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको छ । उनलाई एकल आमाको रुपमा चित्रण गरिएको छ । १ मिनेट १३ सेकेन्ड लम्बाईको टिजरको क्लाइमेक्समा कलाकार नीर शाहलाई फर्काएको संवादमा करिश्माको अभिनय मनछुने छ ।

यतिबेला नेपालमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवादले ठूलो विवाद जन्माएको छ । यही संवादका कारण सोमबारबाट काठमाडौंसहित विभिन्न शहरमा फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । काठमाडौं र पोखरा महानगपालिकाले त फिल्मको सो संवाद भारतमा नसच्चाएसम्म सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शन रोक्ने निर्णय नै गरेको छ ।

