
म्यूजिक भिडियोमा स्थापित कुन्साङ बम्जनले फिल्म ‘दान्भी’बाट अभिनेताको रुपमा डेब्यूको मौका पाएका छन् । फिल्ममा उनको अपोजिटमा पूजा शर्मा छिन् । फिल्मको एक मात्र नायक भएकाले उनको चर्चा राम्रो हुने अनुमान गरिएको थियो । तर, पोस्टर र टिजरमा उनको उपस्थितिले निराश बनाउँछ । निर्देशक रुपेश तामाङले पूजालाई प्राथमिकता दिँदा कुन्साङ छायाँमा परेका छन् ।


आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’ स्टारकास्टका कारण चर्चामा छ । हिटमा ह्याट्रिक गरिसकेको जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा भिलेन बनेका छन् । यस्तै, अर्का अभिनेता प्रवीण खतिवडाले प्रहरी निरीक्षक (इन्सपेक्टर)को भूमिका निभाएका छन् । बिहीबार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

गत असारमा नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘परस्त्री’ भारतको ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्म हिन्दी भाषामा बिहीबार एमएक्स प्लेयरमा उपलब्ध भएको हो । यो प्लेटफर्ममा हिन्दी फिल्म तथा सिरिजहरु निःशुल्क हेर्न पाइने सुविधा छ । तर, नेपालमा यो एप वेब ब्राउजरमा भने खुल्दैन । प्ले स्टोरबाट एप डाउनलोड गरेर मात्र फिल्म हेर्न सकिन्छ ।

संसारमा अनुहारको रुपरंग र शारीरिक ढाँचा उस्तै भएका मानिस अर्को पनि हुन्छ भनिन्छ । तर, अभिनेता अनमोल केसीका भने नेपालमै एकपछि अर्को मिल्दोजुल्दो अनुहार भएकाहरु भेटिरहेका छन् । केही समयअघि अनमोलको ‘डुब्लिकेट’ भन्दै अभिषेक श्रेष्ठ चर्चामा आएका थिए । उनले फिल्म पनि खेलिसके । यतिबेला इओन लिम्बूलाई पनि अनमोलको छायाँ भनिन थालिएको छ ।

साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’मा नेपालकी गायिका मेनुका पौडेलको पार्श्व गायन रहेको गीत सार्वजनिक भएको छ । बुधबार साँझ निर्माण कम्पनी हम्बेल फिल्म्सको युट्युब च्यानलमा सार्वजनिक भएको ‘सूरज ही छाँव बनके’ बोलको हिन्दी संस्करणको गीतमा उनको स्वर समावेश छ । मेनुकाले गत हप्ता मात्रै यो गीत मुम्बईस्थित एक स्टुडियोमा रेकर्ड गराएकी थिइन् ।

