
हलिउड र बलिउड हुँदै ‘कागजपत्र’बाट नेपाली फिल्ममा प्रवेश गरेकी अभिनेत्री शिल्पा मास्के अभिनयमा कुशल मानिन्छिन् । तर, फिल्मको असफलताले उनको करिअर सुखद बन्न दिएको छैन । यसबीच, उनले पहिलो पटक नाटकमा काम गरेकी छन् । उनी अभिनीत डेब्यू नाटक ‘ट्रान्जिट’ यतिबेला शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । र, शिल्पाले अभिनयको प्रशंसा बटुलिरहेकी छन् ।

मोहन राईद्वारा निर्देशित फिल्म ‘महानगर’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्मका मुख्य अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधानलाई प्रस्तुत गरेर एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्म करिब ५ वर्ष अगाडि निर्माण भएको हो । भदौ ८ गते अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘जय हो’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा उत्रन लागेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १० सेकेण्ड लम्बाईको टिजरमा चार महिलाको कथालाई प्रस्तुत गरिएको छ । फिल्म यौन मनोविज्ञानमा केन्द्रित रहेको टिजरले संकेत गर्छ । फिल्मले तीन घटनालाई चित्रण गरेको कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । टिजरले फिल्मको दृश्यभाषा बलियो रहेको छनक दिन्छ ।

गत असार २१ गते घरमा झुन्डिएको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको निधनको बारेमा केही दिन कलाकारहरुले सामाजिक सञ्जालमार्फत् जोरसोरले उचित छानबिनको माग गर्दै न्यायको आवाज उठाए । तर, दिन वित्दै जाँदा विस्तारै त्यो आवाज मत्थर हुन थालेको छ । प्रहरीले पनि सारुक नजिकका केही व्यक्तिहरुसँग सामान्य सोधपुछबाहेक कुनै कदम चाल्न सकेको छैन ।

निर्माताहरुबीच फिल्मको कमाई धेरै देखाउने होडबाजी छ । १० लाख कमाएको फिल्मले ५० लाख र ५० लाख कमाएको फिल्मले १ करोड कमायो भन्दै निर्माताले झ्याली पिट्ने गरेका छन् । हलहरुमा बक्स अफिस सिस्टम कार्यान्वयन नहुँदासम्म मिडियाले समेत निर्माता र वितरककै बोली पत्याउनु पर्ने अवस्था थियो । र, मिडियालाई प्रयोग गरेर निर्माताले करोडौंको डंका पिट्ने गर्थे ।

सुपरहिट फिल्म ‘छ माया छपक्कै’पछि निर्देशक दीपेन्द्र लामाले एकपटक फेरि राजनीतिक विषयमा फिल्म ‘नाङ्गो गाउँ’ बनाएका छन् । सोमबार सार्वजनिक फिल्मको टिजरमा स्वार्थ केन्द्रित राजनीतिले समाजमा पारेको प्रभावलाई देखाइएको छ । राजनीतिका खेलाडी शिशिर वाङ्देल र शिक्षण पेशाबाट राजनीतिमा होमिएका दयाहाङ राईबीचको राजनीतिक टकरावमा ट्रेलर केन्द्रित छ ।

