
सफल फिल्म ‘जात्रा’ फेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् ।

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको अर्जुन सुवेदी निर्देशित फिल्म ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक १ मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ । अभिनेत्री मिरुना मगर भने शान्त स्वभावमा थारु युवतीको रुपमा चित्रित छिन् ।

अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा उनीहरुको जोडी बाँधिन लागेको हो । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने फिल्म द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित भएर बन्नेछ ।

जय राज रायको लेखन तथा निर्देशनमा फिल्म ‘म्याउँ’ निर्माण हुने भएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा विरालोको आँखालाई चित्रित गरिएको छ भने अभिनेता अनुपविक्रम शाही पिठ्यूँको कसिलो शरीर देखाउँदै सर्टलेस अवतारमा प्रस्तुत छन् । उनको अनुहार भने देखाइएको छैन ।

‘झिंगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’को माघे संक्रान्तिको अवसर पारेर सोमबार चारवटा पोस्टर सार्वजनिक गरिएको छ । कलाकारको चरित्रचित्रण गरिएको एउटा पोस्टरमा अभिनेत्री रेखा थापा चियावालीको रुपमा चित्रित छिन् । उनले काँधमा थर्मस भिरेकी छन् भने चियाको कप पनि बोकेकी छन् । रेखाको जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ ।

राजु गिरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘ईश्वर’को तालनगरी पोखरास्थित बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ । शनिबार बिहान गरिएको मुहूर्तमा निर्देशक गिरीसहित अभिनेता पृथ्वीराज प्रसाईं लगायत उपस्थित थिए । कास्की जिल्लामा छायांकन हुने फिल्ममा माओत्से गुरुङलाई पनि मुख्य भूमिकामा अनुबिन्धत गरिएको निर्देशक गिरीले जानकारी दिए ।

