
घटस्थापनाको विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले घरेलु बक्स अफिसमा उत्साहप्रद ओपनिङ गरेको छ । नेपाली फिल्मको इतिहासमै सर्वाधिक सोज (३४०) पाएको फिल्मले पहिलो दिन ८० लाखको ओपनिङ गरेको वितरक कम्पनी डिसिएनले जनाएको छ । बिहीबार देशका प्रायः सहरहरूमा फिल्मले बिहानदेखि नै उच्च अकुपेन्सी कायम गरेको थियो ।

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’ले फरक शैलीमा प्रचार अभियान सुरु गर्ने भएको छ । अहिलेको चर्चित रियालिटी शो ‘कमेडी दरबार’सँग सहकार्य गरेर राष्ट्रिय स्तरको प्रचारात्मक टूर गर्न लागिएको हो । यो कार्यक्रम काठमाडौं उपत्यकाबाहिरका ६ वटा सहरहरु इटहरी, नारायणगढ, बुटवल, नेपालगञ्ज, दाङ र पोखरामा गरिनेछ ।

नेपाली फिल्ममा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन फिल्मकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । अहिले नेपालमा एक्सनलाई नै ‘रिक्स’ जनरा मानिन्छ ।

छठ पर्वको विदा पारेर आगामी कात्तिक २२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा रोशा फुयाँल, भरत अधिकारी, प्रशान्त सिवाकोटी र टीकाराम श्रेष्ठको गायन तथा विषम आचार्यको म्यूजिक एरेञ्ज छ । रोमान्टिक भावको गीतमा पात्रहरुबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार सार्वजनिक ‘मैझारो’ बोलको गीतले प्रेमपीडा बोल्छ । गीतमा शब्द रचना, संगीत र स्वर प्रशान्त सिवाकोटीको छ । फिल्मको यसअघि सार्वजनिक दुई गीत ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’लाई पनि उनले तयार पारेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार वर्षात हुनसक्ने सम्भावना देखिएको जनाएपछि फिल्म ‘बेहुली फ्रम मेघौली’को ओपनिङ प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । पूर्वी जिल्लामा बिहीबार बिहान सामान्य वर्षा भए पनि काठमाडौंको मौसम सफा नै रह्यो । जसले गर्दा फिल्मको ओपनिङ प्रभावित हुन पाएन । र, फिल्मले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ ।

