
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक झन्डै चार मिनेट लम्बाइको ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ । काफ्ले (ब्राह्मण) युवक र गुरुङ युवतीबीचको प्रेमलाई मियो बनाएर कथा भनिएको छ । ट्रेलर हेर्दा फिल्मको केन्द्रीय द्वन्द्व सामाजिक अन्तर्विरोध रहेको देखिन्छ ।

यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को प्रिमियर नेपाली भाषीको बाहुल्यता रहेको भारतीय सहर सिक्किममा गरिने भएको छ । बुधवार साँझ सिक्किमको प्रशासनिक जिल्ला गान्तोकस्थित बज्र सिनेमा हलमा प्रिमियर हुन लागेको हो । त्यसका लागि मंगलबार फिल्मको टिम त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘नरसिंहा अवतार’का निर्मातामध्येका एक हुन्, ध्रुव न्यौपाने । यो उनले निर्माण गरेको पहिलो फिल्म भने होइन । यसअघि उनले ‘हिरो रिर्टन्स’ र ‘मायावी’ गरी दुई फिल्मको निर्माण गरिसकेका छन् । तर, दुर्भाग्य ! दुवै फिल्म व्यावसायिक रुपमा सफल भएनन् । ‘नरसिंहा अवतार’बाट भने उनी आशावादी छन् ।

निर्माणको तयारीमा रहेको फिल्म ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्री मुख्य भूमिकामा देखिने भएका छन् । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् । फिल्ममा उनको जोडी अभिनेत्री दिव्या रायमाझीसँग बाँधिनेछ ।

गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ले ५१ औँ दिने यात्रा पूरा गरेको छ । काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो । ५१ औँ दिनसम्म ४ करोडमाथिको व्यापार गरेको फिल्मले हलको कमाइबाट लगानी उठाएको छ भने डिजिटल र ओभरसिज राइट्सको रकम निर्मातालाई मुनाफाको रूपमा मिलेको छ ।

केही वर्षयता रंगमञ्च र फिल्ममा कलाकार आदानप्रदानको सिलसिला चलिरहेको छ । नाटकका कलाकारहरु फिल्ममा आइरहेका छन् भने फिल्मका चर्चित अनुहारहरुले नाटक गरिरहेका छन् । यसैबीच, अब अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले पनि नाटकमा डेब्यु गर्ने भएकी छन् । आफ्नो नयाँ फिल्म ‘३६ को आँकडा’को छायांकनभन्दा अगाडि उनले नाटकमा अभिनय गर्न लागेकी हुन् ।

