सयौं फिल्मको वितरण गरिसकेका र केही फिल्म निर्माण गरेका सुनिल मानन्धर नेपाली फिल्ममा लगानी गर्नु मुर्खता हो भन्छन् । बुधवार एक कार्यक्रममा उनले नेपाली फिल्ममा लगानी गर्नुभन्दा अन्य कुनै व्यवसायमा लगानी गर्दा राम्रो हुने बताए ।
सुनिलले आफ्नो फिल्म ‘मोक्ष’ले ५ लाख पनि नकमाएको भन्दै फिल्ममा लगानी बालुवामा पानी जस्तै भएको जनाए । सुनिलले बारम्बार फिल्ममा लगानी गर्नुभन्दा रत्नपार्कमा कुनै व्यवसाय गर्दा फाइदा धेरै हुने सल्लाह दिए ।
वितरक सुनिल मानन्धर मात्र होइन, अहिले फिल्म बनाउनुहोस् भनेर सल्लाह दिने फिल्मकर्मी भेटिदैनन् भन्दा पनि हुन्छ । नयाँ निर्माताको अगाडि यसो भन्दा उनीहरु हतोत्साही हुने हुन् कि भन्ने डरका कारण धेरै चुप छन् ।
अहिले फिल्ममा लगानी गर्नेहरु अधिकांश नयाँ छन् । नयाँँ निर्माता दोहोरिएको उदाहरण पनि न्यून नै छ । पुराना निर्माताहरुले निरन्तर फिल्म बनाउँदै गरेको उदाहरण थोरै मात्र देखिन्छ । सयौं फिल्ममा आधा दर्जनले पनि नेपाली बजारबाट लगानी उठाउन सकेका छैनन् । बर्षमा चलेका केही फिल्मको उदाहरण दिएर यहाँ नयाँ निर्माताहरुलाई भित्र्याउने चलन नै चलेको छ । अझ भनौं, मुर्गा बनाउनेहरूको बिगबिगी छ ।
केही समयअघि आयोजना भएको एक फिल्म सम्बन्धी कार्यक्रममा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले आफूले फिल्म नगरी घाटामा गएको सुनेको बताउँदै नयाँले लगानी गरेर यो क्षेत्र धानिएको बुझेको बताएका थिए । यसबाट पनि थाहा हुन्छ, फिल्म नगरीमा दोहोर्याएर फिल्म निर्माण गर्ने निर्माताको संख्या औलामा गन्न सकिन्छ ।
१ लाख व्यापार गर्दा निर्माताको हातमा २३ हजार पनि नआउने अवस्था छ । फिल्म कति चल्यो भन्दा पनि निर्माताको गोजीमा कति आयो भन्ने मुख्य कुरा हो । कलाकार तथा निर्देशक निर शाहले हालै मात्र एक कार्यक्रममा ठट्यौली गर्दै भन्दै थिए, ‘सबै कुरा गर्नु फिल्म नबनाउनुस् ।’ उनको यो ठट्याउलीमा पनि सत्यता सत्यता छ या बितृष्णा ? फिल्म बनाएर उज्जवल भविष्य नभएको उनको बुझाई छ ।
.jpg)
उसो त बर्षमा प्रदर्शनमा आएका केहि फिल्मले नेपालबाट लगानी उठाएर विदेशबाट पनि राम्रै आम्दानी गरेका छन् । फिल्म बनाएर पैसा कुम्लाउने निर्माताहरू फिल्मले व्यापार गरेपनि गोजिमा खासै रकम नआएको गुनासो बारम्बार गर्छन् । यसले पनि निर्माताहरूलाई फिल्म निर्माणमा हतोत्साहित बनाएको हुन्छ । ब्लकबस्टर फिल्म 'छ एकान छ'का निर्माता दीपकराज गिरी फिल्म हिट भएपनि खल्तिमा खासै पैसा नपर्ने गुनासो गर्छन् ।
तर, निरन्तर फिल्म बनाइरहेका वाघ निर्माता छविराज ओझा भने व्यापार हुन्न भनेर हल्ला गर्दै हिड्नुको साटो फिल्म नै राम्रो बनाउनुपर्ने बताउँछन् । उनले फिल्मीखबरसँग भने, ‘२५ बर्षदेखि यही नै खेती गर्दै आएको छु । उब्जनी भएन भनेर खेती छोड्दै हिड्ने कुरा भएन । कहिलेकाहिं सोचे अनुसार खेती नहुन पनि सक्छ, यसको अर्थ खेतलाई नै बाँझो राख्ने भन्ने होइन ।’
छवि भन्छन, 'फिल्म निर्माण बाहेक अरु सोच्न सक्दिन ।' वाध्यताले हराएका निर्माताहरु पनि एकदिन फर्केर आउने उनको भनाई छ । तर, आफ्नो जन्मदिने आमालाई काम पर्दा साथ दिने र बिरामी र बुढेसकाल लागेपछि छोड्नु गलत रहेको धारणा राख्छन्, छवि । उनले दर्शकको मन जित्ने फिल्म बनाउँदा सफल भइने बताए ।
निर्माता संघका अध्यक्ष राजकुमार राई हुन् या डीसीएन अध्यक्ष अशोक शर्मा नै किन नहुन्, उनीहरुले अन्यको फिल्ममा सामान्य लगानी गरेको भेटिएपनि आफै दिल खोलेर फिल्ममा पैसा खर्च गरेका छैनन् । फिल्म बजारमा सर्वाधिक चर्चामा रहेका व्यक्तिहरु नै फिल्म बनाउन भन्दा राजनीति गर्नमा अग्रसर देखिन्छन् ।
निर्माता रोज राणाले फिल्मको बजार कमजोर रहेको भन्दै फिल्म बनाउन छोडेको पनि लामै समय भैसकेको छ । उनले बनाउने भनेका फिल्म यसै थन्किएका छन् । रोज त निमित्त पात्र मात्र हुन् । यहाँँ थुप्रै निर्माताहरू छन् जो निर्माण घोषणा गरेर गुमनाम भएर बसेका छन् । सम्भवत: फिल्म निर्माण गरेर सफलता नदेखेकाले उनीहरू पछि हट्दै छन् ।
फिल्म बनाउनु हुँदैन, घाटा छ भनेर सल्लाह दिनु भन्दा पनि निर्मातालाई बचाउने र उनीहरुलाई निरन्तर लगानीका लागि अग्रसर हुने वातावरण गर्दिने हो भने फिल्म बजार सधैं यस्तै धराशायी हुन्छ भन्ने छैन । तर, फिल्म नै चल्दैन भनेर हतोत्साही गरेर न त यो क्षेत्र गतिलोसँग चल्छ, न त यसलाई मुखले मात्र भन्दै आइएको उद्योगको दर्जा नै दिन सकिन्छ ।

