Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मदनकृष्ण खतरा मुक्त

फिल्मीखबर, काठमाण्डौ, 2014/07/10
चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ केही सययदेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । यसै साता सम्पन्न दुई बिहे समारोहमा ‘मह जोडी’का हरिवंश आचार्य मात्रै पत्नीका साथ सहभागी भए ।
 
निर्देशक अनुप बराल र दीया मास्केको बिहे भोजमा मदन दाइ खोइ त ? भन्ने जिज्ञासामा हरिवंशले बिरामी भएर हिड्डुल गर्न नसकेको बताएपनि बिरामीको कारण भने खुलाएका थिएनन् ।
 
पत्रकार गुणराज लुइँटेलले अनलाइन पोट्रल सेतोपाटी डट कम मार्फत कलाकार मदनकृष्ण श्रेष्ठलाई भएको बिमार बाहिर ल्याएका छन् । केही वर्षदेखि मदनकृष्ण ‘पार्किन्सन’ अर्थात् विस्तारै शरीरका अंगहरु चल्न नसक्ने समस्याबाट ग्रसित थिए । उनी अहिले ठिक अवस्थामा छन् ।
 
माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा कलाकार श्रेष्ठलाई भेटेर पत्रकार लुइँटेलले सेतो पाटीमा छपाएको यो लेख हामीले यहाँ प्रस्तुत गरेका छौं ।
 
 
उपचारपछि अस्पतालमा मदनकृष्ण श्रेष्ठसँग भेट्दा
 
 
‘ल अब मेरो हात कति मजाले चल्छ’ भन्दै चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले अस्पतालको बेडमा बसीबसी हाउभाउ देखाए। पार्किन्सनको उपचारका निम्ति भर्ना भएका उनलाई माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा राखिएको भए पनि धेरै प्रचार भएको थिएन। कुनै सञ्चार माध्यममा आएको थिएन।
 
​आफूले हृदयदेखि श्रद्धा गरेका यी कलाकारलाई हेर्न यो संवाददाता आइतबार बेलुकी अन्नपूर्ण अस्पताल पुगेको थियो । बिरामी भनिएका मान्छे त मजाले ओच्छ्यानमा बसेर खुट्टा भुइँमा झारीकन बात मारिरहेका छन्। 
 
उनी एकै छिनमा पानी लिनका निम्ति उठेर गए। पहिलाजस्तो उनी आफ्नो दायाँ खुट्टा लतारेर हिँडिरहेका थिएनन्। ‘निकै वर्षदेखि बानी परेर मात्र हो तर अब फटाफट हिँड्न सकिन्छ,’ उनले भने। 
 
स्वास्थ्य क्षेत्रको अनुसन्धान र प्रयोगले एउटा आश्चर्यजनक घटना भइरहेको थियो। केही वर्षयता कलाकार श्रेष्ठले पार्किन्सनको समस्या झेल्दै आएका थिए। यसले विस्तारै शरीरका अंगहरू चल्न नसक्ने बनाउँदै लैजान्छ भन्ने उनलाई थाहा थियो। 
 
उनलाई दाहिने हात चलाउन गाह्रो पर्न थालेको थियो। दायाँ गालामा कन्याउनु पर्‍यो भने बायाँ हातको प्रयोग गर्नु परेको पनि उनले भेटका क्रममा उल्लेख गरे। कुरा गरिरहेका बेला फेरि उनले आफ्नो हात प्रयोग गर्न सजिलो भएको देखाउँदै भने, ‘ल अब त यो हात पनि मज्जाले जान्छ।’
 
आफ्ना चलिरहेका हातगोडा राम्ररी चल्न छोड्नुको पीडा असाध्यै हुन्छ। कलाकार श्रेष्ठको अनुहार त्यो साँझ धपक्क बलेको थियो। बातचितकै क्रममा हामीले भन्यौं पनि, ‘दाइ, तपाईंको अनुहार पूरै फेरिएको छ। तपाईं बिरामीजस्तो पनि देखिनु हुन्न।’
 
उनले पनि समर्थन गर्दै भने, ‘हो नि, म यसै भित्रभित्रै केही भएको जस्तो थिएँ। अझ पहिलेको फोटो हेर्दा त बिरामी नै देखिँदो रहेछ।’ उपचारको विषयमा कुरा हुँदै गर्दा भर्खरै सम्पन्न महजात्राका दृश्यहरू मेरा मानसपटलमा आइरहेका थिए। त्यत्रो पीडा बोकेर उनले साताभन्दा बढी दिनसम्म राजधानीवासीलाई हँसाइरहेका थिए। राम्ररी नसा चल्न छोडेको शरीरले कसरी त्यत्रो कार्यक्रम गर्‍यो होला?
 
पार्किन्सनको उपचार गराउन ख्यातिप्राप्त जापानी चिकित्सक ताकोओमी ताइरो आएको मौका पारेर वरिष्ठ न्यूरो सर्जन वसन्त पन्तलगायतका चिकित्सकले नेपालमा पहिलोपटक यस्तो गम्भीर प्रकृतिको उपचार गरेका थिए। त्यो पनि सामान्य व्यक्तिलाई होइन, मुलुककै चर्चित व्यक्तिमाथि यो प्रयोग गर्नु चिकित्सकहरूका निम्ति पनि निकै ठूलो हाँकको विषय थियो। 
 
उनको यो शल्यक्रिया टाउको, गर्धन हुँदै छातीभित्र मुटुमा पेसमेकर राख्नका निम्ति थियो। शल्यक्रिया हुँदाका क्षणका पनि उनले रोचक किसिमको वर्णन गरे हाम्रो भेटका क्रममा। 
 
टाउकोलाई पूरै चलाउन नमिल्ने गरी बाहिरबाट ढाक्ने उपकरण राखिने रहेछ। तर, त्यो उपकरणले एमआरआइ गर्दा सबै देख्न समेत मिल्ने रहेछ। अनि टाउकोको शल्य क्रिया गर्दा भने उनलाई होसमै राखिएको थियो। कारण दिमागमा चिप्स राखेपछि त्यो र मुटुको पेसमेकरको सन्तुलनका आधारमा हात कति कत्तिको चल्यो भन्ने थाहा पाइने रहेछ। 
 
‘यो दिमाग त ड्रिल गरेजस्तो आवाज आउने रहेछ,’ त्यो सबै मैले सुनिरहेँं। ‘त्यसपछि डाक्टरहरूले हात चलाउनुहोस् त... अहिले ठीक छ... फेरि चलाउनुहोस्... भनिरहे। मैले ल अब राम्रो चल्छ भनेपछि उनीहरूले त्यसलाई फिक्स गरे।’
 
पार्किन्सन भएका यस्ता विरामीलाई सुरुकै अवस्थामा यो उपचार गराउन सकियो भने पुनः पहिलेकै जस्तो उनीहरूका अंगहरू चल्न थाल्छन्। यसका निम्ति दिमागलाई सक्रिय गराउन चिप्स राख्ने र त्यसलाई मुटुको पेसमेकरसँग जोड्ने यो शल्यक्रिया यी जापानी चिकित्सकले हजारौंलाई सफलतापूर्वक गरिसकेको पनि श्रेष्ठले उल्लेख गरे। 
 
यो उपचारका निम्ति निकै लामो तयारी अस्पताल र चिकित्सकले समेत गरेका थिए। यसका निम्ति चाहिने उपकरण भारतबाट भाडामा ल्याइएको थियो। उनले अहिले यो उपचार नगराएका भए एउटा मुलुकका ज्यूँदाजाग्दा कलाकारको जीवनका निम्ति दुःखद किसिमको घटना हुन जान्थ्यो। 
 
‘अब १० वर्षका निम्ति ढुक्क भएँ,’ श्रेष्ठले भने। १० वर्षपछि फेरि पेसमेकरमा व्याट्री फेर्नुपर्ने हुन्छ। पेसमेकरले मुटुको धड्कन बढी वा कम भएको स्थितिलाई ठीक ठाउँमा ल्याउन मद्दत गर्छ। दिमागले ठीक ढंगले आफ्ना नर्भ सिष्टमलाई सन्देश प्रवाह गर्ने र मुटुको धड्कनले रक्त प्रवाहलाई मद्दत गर्छ। 
 
आश्चर्यको विषय के भने चिकित्सकहरूले उनी आफैंलाई सोधीसोधी हात खुट्टा कति चलाउन मिल्छ त्यो अनुसार उपचार गरेका थिए। यी वरिष्ठ कलाकारमा त्यो साँझ देखिएको आत्मविश्वास, जीवनप्रतिको अनन्य विश्वास र फेरि एउटा नयाँ मान्छे बनेर सक्रिय हुन लागेको क्षण आफैंमा लोभलाग्दो थियो। 
 
उपचार खर्च निकै महँगो छ। उनको उपचारका निम्ति अस्पतालले केही छुट दिएको उनले बताए। सर्वसाधारणले यति खर्च गर्ने आँट गर्न सक्दैनन्। उनले पनि एक पटक नगर्ने कि भन्ने जस्तो मन पनि बनाएका थिए । तर, फेरि उनले मसक्क आँटे। 
 
त्यत्रो ठूलो उपचारबाट उनी तङ्ग्रिएपछि सबैभन्दा बढी खुसी त चिकित्सक पन्त भएका रहेछन्। ‘डाक्टरसाबलाई निकै तनाव भएको थियो,’ उनले त्यो बेला पनि सम्झिए। उनी त्यहाँं उपचार गराइरहेको थाहा पाएर उनलाई स्वास्थ्यलाभको कामना गर्दै आउनेहरू मध्ये सामान्य सर्वसाधारण र किशोरीहरू पनि थिए। 
 
खासमा त्यो साँझ एउटा रोगमाथिको विजयोत्सवजस्तो भइरहेको थियो। हामी उपचारबाहेक पनि हाम्रो मुलुक, राजनीति र अनेकानेक विषयमा छलफल गर्‍यौं। रातिको खाना खाने बेला भयो। उनले अण्डा राखेको फ्राइड राइस खाने इच्छा राखे। उनका छोरा यमनले चिकेन चाउमिन र हामीलाई कफी। हाम्रा निम्ति त्यो बेला समयको प्रवाहको कुनै मतलब थिएन। 
 
अर्डर गरेभन्दा बढी खाना आइपुग्यो। हामीले पनि त्यसमा साथ दिनु पर्ने भयो। हामी सबै फेरि रमाउँदै रात्रिकालीन खानामा लाग्यौं। यी वरिष्ठ कलाकार श्रेष्ठ मजाले हात चलाइचलाई चम्चाले खाना खान थाले। उपचारपछि यी जीवनका प्रक्रिया सहज भएका थिए। 
 
साँझमा पुगेका हामी घडीको सुइ रातको १० बजे छुन लागे पछि हामी हिड्न तयार भयौं। ‘जाने र ? यही बसे हुन्न ?’ उनले भने। ‘बस्न त मलाई पनि मन छ, फेरि तपाईंलाई औषधी खाएर आराम पनि गर्नु पर्छ,’ मैले उनलाई भनेँं, ‘हामी यहाँ बसिरह्यौं भने हामीले सुत्न बिर्सन्छौं र गफिइरहन सक्छौं।’
 
उनी फूर्तिसँग हात मिलाउन ओच्छ्यानबाट उठे। हामी बिदा भयौं। उनको आत्मविश्वासले उचाइ लिएको देखेर मन पुलकित भइरह्यो। बाटोभरि उनले नर्तकीले जस्तै हात हल्लाएको दृश्य आँखामा आइरह्यो। 
 
 
(उनको उपचारबारे अस्पतालले पत्रकार सम्मेलन गर्ने भएपछि मात्र यी प्रशंग लेखिएका हुन्। अन्यथा स्वास्थ्यको विषय गोप्य रहनुपर्ने ठानेर यो संवाददाताले यसअघि कतै उल्लेख गरेको थिएन।)

 

Most Visited News (monthly)