Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकराजको टिप्पणीपछि केदारले देखाए ‘माग्ने राजा’ हिट भएको प्रमाण

फिल्मीखबर, काठमाडौं, 2026/10/30

Kedar Prasad Ghimire

 

काठमाडौं । यसपालि दसैंमा प्रदर्शन भएको दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा असफल भएपछि धेरैले यसको कारण केदार घिमिरे ‘माग्ने बुढा’को अभिनय नहुनुलाई मानेका छन् । तर, बिहीबार एक अन्तर्वार्तामा दीपकराजले यो कुरा ठाडै अस्वीकार गरे । बरु उनले हास्यरस कम हुँदा फिल्म नचलेको आशय व्यक्त गरे । 

उनले भने, ‘केदार घिमिरे नभएकाले फिल्म असफल भएको म मान्दिनँ । हास्यरस कम भएर हो । ‘माग्ने बुढा’ भएर फिल्म हिट हुने भए उसका सबै फिल्म सुपरडुपर हिट भइहाल्थे नि । एउटा मान्छेले फिल्मलाई हिट बनाउन सक्दैन । तर, ‘छ माया छपक्कै २’को त्यो पात्रमा दर्शकले ‘माग्ने बुढा’ खोजे । किनकि, त्योभन्दा अघि ‘माग्ने बुढा’ले खेलेका थिए ।’ 

दीपकराजले ‘माग्ने बुढा’का सबै फिल्म सफल नभएको जिकिर गरेपछि केदारले शुक्रबार फेसबुकमा एक पोस्ट लेख्दै आफ्नो पछिल्लो फिल्म ‘माग्ने राजा’ हिट भएको प्रमाण पेस गरेका छन् । फिल्मले बक्स अफिसमा मात्रै ४ करोड ७६ लाख रुपैयाँ ग्रस कमाएको उनको दाबी छ । युट्युब र विदेश राइट्सको रकम पनि यही आसपास रहेको उनले बताएका छन् । 

उनले भनेका छन्, ‘भाद्र ६ गते रिलिज भएको र भाद्र २३ र २४ आन्दोलन भई सबै हल ‘डिस्टर्भ’ भएको थियो । जम्मा १६ दिन मात्रै चल्न पाएको थियो भनि सबैमा जानकारी गराएँ ।’ दीपकराजको टिप्पणी लगत्तै केदारले ‘माग्ने राजा’ हिट भएको प्रमाण सार्वजनिक गर्नुले उनीहरूबीचको सम्बन्धमा चिसोपन आएको स्पष्ट संकेत गर्छ ।

 

kedar ghimire


निकट स्रोतका अनुसार ‘छ माया छपक्कै २’मा अभिनय नगरेपछि दीपक–दीपा केदारसँग रुष्ट छन् । सुरुमा फिल्मको स्क्रिप्टमा काम हुँदा केदारको पनि अभिनय रहने तय थियो । तर, बीचमा उनी अमेरिका गएपछि नेपाल फर्किन पाएनन् । जसले गर्दा छायांकनको अन्तिम समयमा दीपकले फिल्मको स्क्रिप्ट नै परिवर्तन गरेका थिए । यसपछि केदारको ठाउँमा कर्मा भित्रिए ।

फिल्म रिलिजको संघारमा केदार छायांकनको योजनासहित अमेरिकाबाट नेपाल आएका पनि थिए । तर, दीपकले नै उनको छायांकन गर्न नचाहेको स्रोतको दाबी छ । त्यसयता दीपक−दीपा र केदारबीच भेटघाट र बोलचाल समेत नभएको बताइन्छ । अहिले दीपक र केदारबीच चलिरहेको अघोषित जुहारीले पनि उनीहरूको सम्बन्ध सुमधुर नरहेको संकेत गर्छ ।