काठमाडौं । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको समूहलाई नेपाली बक्स अफिसको ‘हिट मेसिन’ मानिन्छ । कारण, यो समूहका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसैले दीपक−दीपाले नयाँ फिल्म घोषणा गर्दा नै त्यसलाई ‘स्योर सट हिट’का रूपमा हेरिन्छ । तर, यसपटक भने यो समूह बक्स अफिसमा नराम्रोसँग पछारिएको छ ।
दसैं (३१ असोज)मा प्रदर्शन भएको दीपक−दीपाको नयाँ फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा निकै कमजोर देखिएको छ । प्रदर्शनको दुई साता बित्दै गर्दा फिल्मले साढे ३ करोड हाराहारी व्यापार गरेको छ । यसअघि दीपक−दीपाका फिल्मले सोही अवधिमा ७−८ करोडको व्यापार गर्ने गरेका थिए । तर, यसपटक यो आँकडा पनि फिल्मका लागि धेरै टाढा देखिएका छ ।
फिल्मले घरेलु बजारबाटै लगानी उठाउन असम्भव देखिएपछि दीपकराजले यसको जिम्मेवार आफूलाई ठहराएका छन् । बिहीबार एक टेलिभिजन कार्यक्रममा उनले ‘छ माया छपक्कै २’को असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । ‘फिल्म जति सफल हुनुपर्थ्यो, त्यो नहुनुमा एउटा मान्छेको मात्र ठूलो भूमिका छ । त्यो हो, दीपकराज गिरी,’ उनले भने ।
‘छ माया छपक्कै २’ असफल हुनुमा ९८ प्रतिशत आफू जिम्मेवार रहेको उनको भनाइ छ । दीपक भन्छन्, ‘फिल्म हिट भएको भए दीपकको फिल्म दामी छ भनेर सुन्न चाहिँ तयार हुने अनि असफल हुँदा सबै दोष अरुलाई थुपार्ने कुरा हुँदैन । ‘छ माया छपक्कै २’ असफलताको जिम्मेवार व्यक्ति भनेको ९८ प्रतिशत म हो । त्यो जिम्मेवारी मैले लिनैपर्छ ।’
उनले फिल्म छायांकनको अन्तिम समयमा एक कलाकारले आफूलाई धोका दिएको आशय पनि व्यक्त गरे । उनले नाम नखुलाए पनि ती कलाकार केदार घिमिरे (माग्ने बुढा) हुन् । फिल्मको स्क्रिप्टमा काम हुँदा उनको अभिनय रहने तय थियो । तर, बीचमा उनी अमेरिका गएपछि विभिन्न कारणले नेपाल फर्किन पाएनन् । जसले गर्दा फिल्मको पछि स्क्रिप्ट नै परिवर्तन गरिएको थियो ।
दीपकले केदारप्रति लक्षित गर्दै भनेका छन्, ‘प्राविधिक त्रुटिका कारण मेरो एकजना हास्य पात्रले छायांकनभन्दा २० दिनअघि काम गर्न नभ्याउने भन्दिएका कारण ममा ठूलो सिर्जनात्मक दबाब सिर्जना भयो ।’ तर, उनी केदार घिमिरे नभएका कारण फिल्म असफल भएको स्वीकार गर्न भने तयार छैनन् । एउटा व्यक्तिका कारण फिल्म हिट नहुने उनको तर्क छ ।
उनी भन्छन्, ‘केदार घिमिरे (माग्ने बुढा) नभएकाले फिल्म असफल भएको चाहिँ मान्दिनँ । हास्यरस कम भएर हो । ‘माग्ने बुढा’ भएर फिल्म हिट हुने भए उसका सबै फिल्म सुपरडुपर हिट भइहाल्थे नि । एउटा मान्छेले फिल्मलाई हिट बनाउन सक्दैन । तर, ‘छ माया छपक्कै २’को त्यो पात्रमा दर्शकले ‘माग्ने बुढा’ खोजे । किनकि, त्योभन्दा अघि ‘माग्ने बुढा’ले खेलेका थिए ।’
दीपकराजले फिल्मको शो जोगाउन केही टिकट आफैँले किनेको खुलासा समेत गरेका छन् । उनी भन्छन्, ‘मैले फिल्मका शो जोगाउन ५−७ वटा टिकट किनेको हुँ । त्यसले के गर्छ भने फिल्मको बुकिङ आइरहेको छ भनेर हलहरूले शो हटाउँदैनन् । योबाहेक ट्रकभरि मान्छे ल्याएर हलबाहिर आफैँले टिकट बाँड्ने खेलमा चाहिँ म छैन ।’

